दीपक भट्टसँगै धितोपत्र कसुरको मुद्दामा मुछिए दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा
techpana.com · Fri Jun 12 12:08:53 GMT 2026

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा नेपालकै हालसम्मकै ठुलो धितोपत्र (सेयर) सम्बन्धी कसुर र बजार म्यानुपुलेसनको मुद्दामा मुछिएका छन् । दूरसञ्चार क्षेत्रका परिचित अनुहार झासहित विवादास्पद व्यापारी दीपक भट्ट, सुलभ अग्रवाल लगायत ८१ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बिहीबार काठमाडौँ जिल्ला अदालतमा अर्बौं रुपैयाँको बिगो दाबीसहित अभियोग पत्र दायर गरेको हो ।
दूरसञ्चार क्षेत्रको नियामक निकायको नेतृत्व गरिसकेका दिगम्बर झा पछिल्लो समय हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिति सदस्य थिए । सोही बीमा कम्पनीको सञ्चालकका रूपमा काम गर्दा उनले दीपक भट्ट र सुलभ अग्रवालको योजनामा शेयर बजारमा कृत्रिम मूल्य वृद्धि (Price Manipulation) गराउने सङ्गठित अपराधमा साथ दिएको अभियोग पत्रमा उल्लेख छ । सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोग पत्रमा ७३ वर्षीय झालाई हाल 'फरार' प्रतिवादीको सूचीमा राखिएको छ ।
किन तानिए दिगम्बर झा ?
प्रविधिको प्रयोग गर्दै शेयर दलाल कम्पनी भृकुटी स्टक ब्रोकिङमार्फत टीएमएस अकाउन्ट र एउटै आईपी एड्रेसको दुरुपयोग गरी सङ्गठित रूपमा सर्कुलर ट्रेडिङ (Circular Trading) र वाश ट्रेडिङ (Wash Trading) गरिएको थियो । यसरी नेपाल रिइन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ लगायतका कम्पनीको शेयर मूल्य अस्वाभाविक रूपमा बढाइएको थियो ।
यस कार्यमा हिमालयन लाइफ इन्स्योरेन्स लगायतका संस्थाहरूको करोडौं लगानीयोग्य रकम अनधिकृत रूपमा प्रयोग गरिएको थियो । बीमा प्राधिकरणको स्वीकृति विना र प्रचलित कानुनको धज्जी उडाउँदै, हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले कम्पनीको कोषको रकम सुलभ अग्रवाल र दीपक भट्टको योजना अनुरूप शेयर खरिद गर्न भृकुटी स्टक ब्रोकरलाई उपलब्ध गराएको थियो ।
सञ्चालक समितिको सदस्यको हैसियतमा दिगम्बर झाले कम्पनीलाई हानी नोक्सानी पुग्ने गरी समग्र धितोपत्र बजारलाई झुक्याउने यस आपराधिक र योजनाबद्ध कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्नता जनाएको अभियोग छ ।
झासहितका प्रतिवादीहरूविरुद्ध धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४ को खण्ड (क), दफा ९५, दफा ९६ को देहाय (क) र दफा ९८ बमोजिमको कसुर गरेको अभियोग लगाइएको छ । उनीहरूमाथि वास्तविक स्वामित्व परिवर्तन नहुने गरी झुटो कारोबार गरेको, कृत्रिम रूपमा शेयर मूल्यमा उतारचढाव ल्याएको र सर्वसाधारण लगानीकर्तालाई फसाउन जालसाजीयुक्त कारोबार गरेको गम्भीर आरोप छ ।
दिगम्बर झासहितका तत्कालीन पदाधिकारीहरूले एकआपसमा मिली झुटा कारोबार गरी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडलाई जम्मा ४ करोड ५० लाख रुपैयाँभन्दा बढी हानी नोक्सानी पुर्याएको अभियोग पत्रमा उल्लेख छ । यस बाहेक हिमालयन क्यापसर्भ, हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडलाई हानी नोक्सानी पुर्याउने व्यक्तिहरूको सूचीमा समेत झाको नाम उल्लेख छ ।
अभियोग पत्रमा हिमालयन लाइफ इन्स्योरेन्स लगायतका पब्लिक कम्पनीहरूलाई पुर्याएको हानी नोक्सानी बापत दिगम्बर झा लगायतका सञ्चालक तथा पदाधिकारीहरूबाट करोडौँ रुपैयाँ क्षतिपूर्ति भराउन समेत मागदाबी गरिएको छ । बीमा कम्पनीको रकम अपचलन तथा आर्थिक हिनामिना गरी सर्वसाधारणको लगानी जोखिममा पारेको भन्दै झासहितका पदाधिकारीहरूलाई हानी नोक्सानीको बिगो र धितोपत्र ऐनको दफा १०१ बमोजिमको कैद तथा जरिबाना सजायको माग गरिएको छ ।
अहिले यस मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका झा लगायतका अभियुक्तहरूको खोजी कार्य तथा थप कानुनी प्रक्रिया अगाडि बढिरहेको छ ।
पछिल्लो अध्यावधिक: जेठ २९, २०८३ १७:५५
टिप्पणीहरू
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)
नेपाल दूरसञ्चार प्राधिकरण