मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बालसाहित्यका चार पुस्तक लोकार्पण

gorkhapatraonline.com · Tue Mar 05 01:14:23 GMT 2024

काठमाडौँ, फागुन २२ गते । बालसाहित्यका चार पुस्तकको एकै पटक लोकार्पण गरिएको छ । त्रिदेव पौडेलको ‘मेरा बाल सिर्जनाहरू’, ‘नेपाललाई नेपाल बनाउने चाहना’, तिलोत्तम पौडेलको ‘बाल सहभागिता र बालक्लब’ र डा. देवकी आचार्यको ‘नीलिमा र क्यामेरा’ कथासङ्ग्रहको संयुक्त रूपमा लोकार्पण गरिएको हो । पूर्वपरराष्ट्रमन्त्री तथा साहित्यकार प्रदीप ज्ञवालीले लेखक त्रिदेव पौडेलले लेखेका कृतिले देशको राजनीतिलगायत विविध क्षेत्रको नेतृत्वलाई समेत प्रेरणा दिन सक्ने बताउनुभयो ।

नेपाललाई स्विट्जरल्यान्ड, सिङ्गापुर बनाउने वक्तव्य, मन्तव्य सुनेर हुर्किरहनुभएका १२ वर्षीय लेखक त्रिदेव पौडेलले यही देशलाई उदाहरणीय देशका रूपमा विकास गर्ने सपनासहित खाका कोर्दै लेखेको लेखहरूको सङ्ग्रह पुस्तकका रूपमा पाठकमाझ आएको हो । उहाँको अर्को कृतिमा कोभिड–१९ का बेला लेख्नुभएको कथा, कविता, निबन्धहरू समेटिएका छन् । लेखक डा. देवकी आचार्यको नेपालमा चलेको सशस्त्र द्वन्द्वले बालबालिकामा परेका प्रभावका विषयमा ‘नीलिमा र क्यामेरा’ कथासङ्ग्रह पाठकमाझ ल्याउनुभएको हो । तिलोत्तम पौडेलले ‘बाल सहभागिता र बालक्लब’ नेपालमा बाल सहभागिताको उठान र बालक्लबको सुरुवातदेखि हालसम्मको ऐतिहासिक पृष्ठभूमिसमेतको चर्चा गर्नुभएको छ । डा. दयाराम श्रेष्ठले ‘नीलिमा र क्यामेरा’ कथासङ्ग्रहका कथाहरू किशोर साहित्यसँग सम्बन्धित रहेको र किशोरकिशोरीका जीवनमा भोगेका दुःखद घटनाका प्रभाव गहन रूपमा प्रस्तुत रहेको कुरा बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)