ट्रान्जिट प्वाइन्ट हुनबाट रोक
rajdhanidaily.com · Tue Aug 31 23:48:10 GMT 2021
नेपाल कोकिन ओसारपसारको ट्रान्जिट प्वाइन्ट भएको खुलेपछि यसले आमजनतामा चिन्ता उत्पन्न गराएको छ । लागूपदार्थको दुव्र्यसन बढिरहेका बेला नेपालमा नै यस्तो व्यापारको बाटो बनेको भन्ने थाहा पाएपछि यसको रोकथामका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता टड्कारो बढेर गएको छ । लागूपदार्थ सेवनले आक्रान्त हुँदै गइरहेको नेपाली समाजमा लागूऔषध ‘कोकिन’को खपत बढ्न थालेको तथ्यांकबाहिर आएपछि त्यसको व्यापारमा निगरानी गरिएको प्रशासनले जनाएको थियो । प्रहरी अधिकारीहरू त नेपाली बजारमै कोकिनको खपत बढिरहेकोमा चिन्ता व्यक्त गरिरहेका छन् । बोलिभिया, पेरुजस्ता दक्षिण अमेरिकी देशबाट नेपाल भित्रने कोकिन नेपाली बजारमा मात्र नभएर भारतजस्ता छिमेकी देशहरूमा पठाउने गरेको पनि पाइएको छ । यसको अन्तरदेशीय सञ्जाल रहेको पनि खुलेको छ । विदेशी तस्करको गिरोहले ब्राजिलको साउपाउलो एयरपोर्ट हुँदै भारत, यूएई आदिमा बढी नै पठाउने गरे पनि नेपाल पनि त्यसबाट अछुतो नरहेको नेपाल प्रहरीको खोज र अनुुसन्धानले देखाएको छ । विश्वमा भूमिगततवरले अवैधानिक व्यापार गरिने लागूऔषधमा कोकिन सबैभन्दा महँगो कोटीमा पर्छ ।
हालसम्मको अनुसन्धानमा पछिल्ला केही वर्षदेखि नेपाल लागूपदार्थ ओसारपसारको ट्रान्जिट बन्दै त छैन भन्ने बहसले निकै ठाउँ पाउन थालेको छ । नेपाल प्रहरीले गरेको अनुसन्धानले पनि पछिल्लो समयमा कोकिनजस्ता लागूपदार्थ नेपाल हुँदै भारत निर्यात हुने गरेको देखाएको छ । प्रहरी सतर्कता र अनुसन्धानका नयाँनयाँ तरिकाका कारण नेपाल हुँदै गरिने लागूपदार्थको ओसारपसारमा कमी आउन थालेको छ । तर, यसविपरीत नेपाली बजारमा कोकिनजस्ता लागूपदार्थको खपत बढेर गइरहेको छ । प्रहरीको अनुसन्धानमा विदेशबाट आयात गरिने यस्ता लागूपदार्थ तारेहोटल तथा रेस्टुरेन्टहरूमा प्रयोग हुँदै आएका छन् । विदेशी पर्यटकको लत तथा आनीबानीका आधारमा ठूला होटल तथा रेस्टुरेन्टहरूमा कोकिनजस्ता लागूपदार्थको खपत हुने गरे पनि नेपाली जनजीवनमा यसले दूरगामी नकारात्मक असर पारिरहेको छ । त्यसमा उच्च घरानाका मानिस बढी संलग्न रहेको देखिएको छ । हालसम्म नेपालमा नै पेसाका रूपमा कोकिनलगायतका लागूपदार्थको व्यापारमा लागेको नपाइए पनि सहयोगीका रूपमा भने दुव्र्यसनमा लाग्नेहरू रहेको अनुसन्धानमा खुलेको छ । यसको ओसारपसारमा विदेशी नागरिकको नै मुख्य रूपमा संलग्नता रहेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)