कालो ढुसीको प्रकोप नियन्त्रण गर
rajdhanidaily.com · Thu Jun 03 23:35:57 GMT 2021
कोभिड—१९ को दोस्रो लहर फैलिएसँगै संक्रमित बिरामीमा कालो ढुसी रोग देखापरेको छ । कालो ढुसीको पहिचान र यसको प्रकोप पछिल्लो चरणमा देखा परेको हो । यसले बिरामीको स्वास्थ्य निकै चिन्ताजनक बनाउँदै लगेको छ । मानिस प्रायः कालो ढुसीबारे त्यति जानकार छैनन् । उनीहरूलाई कोरोना संक्रमणको महामारीसँगै कालो ढुसीले पनि सताउँछ भन्ने जानकारी कमै मात्र छ । त्यसैले पनि कालो ढुसी रोग र त्यसको असरबारे सर्वसाधारणलाई बेलैमा सचेत गराउन जरुरी छ । तर, यसबारे अधिकांश मानिस बेखबर छन् । यो अवस्थाले जनसाधारणको स्वास्थ्य स्थिति झनै कमजोर र गम्भीर बनाउने देखिएको छ । कोरोना संक्रमणबाट निको भएका बिरामीमा कालो ढुसीले निरन्तर पछ्याइरहेको देखिन्छ । उपचारका क्रममा पनि कोभिड रोगबारे डाक्टर जानकार हुने, यसको उपचार गर्ने तर कालो ढुसीबारे जानकार नरहने वा बेवास्ता हुने आदि कारणले बिरामी यसको मारमा पर्न पुगेका छन् । पछिल्लो समयमा कोरोना महामारीसँगै कालो ढुसी संक्रमण र त्यसको गम्भीर प्रभावलाई समेत ख्याल गरी दुवै रोगको उपचार एकै समयमा गर्नुपर्ने देखिएको छ ।
कोभिड संक्रमण र कालो ढुसी रोगको आक्रमण साथसाथै हुने भएकाले एसअर्कासँग यसरी अन्र्तसम्बन्धित भएर आएका रोगको नियन्त्रण कोभिड महामारी नियन्त्रणसँगै कालो ढुसी नियन्त्रण र उपचार एकैसाथ अघि बढाउनुपर्छ । नत्र भने कोभिड संक्रमणको उपचार हुने तर कालो ढुसीको उपचार नहुने र बिरामीको ढुसी संक्रमणबाट मृत्यु हुने सम्भावना बढेर गएको छ । ढुसी संक्रमण कोरोना भाइरस संक्रमणकै अवस्थामा मानिसको शरीरमा प्रवेश भइसक्ने र यसले निरन्तर प्रभाव परिरहने देखिएको छ । कोरोना भाइरस मात्र हो भनेर बिरामी त्यसको उपचारमा लागिरहने तर कोरोना भाइरसकै विरुद्धमा प्रयोग गरिएका औषधिका कारण कालो ढुसी संक्रमणका लागि शरीरभित्र उपयुक्त वातावरण बन्दै जाने देखिएको छ । विषेशगरी मधुमेहका रोगीमा कालो ढुसी देखा पर्ने गरेको छ । कालो ढुसी लागेका बिरामीको आँखा कमजोर हुँदै जाने र दृष्टिसमेत गुमाउने समस्या पनि देखापरेको छ । ढुसी लागेको बिरामीको नाक तथा आँखाको वरिपरि काला धर्साहरू देखिने गर्छ । यो रोग लागेपछि मानिसहरू असाध्यै कमजोर हुने, श्वास फेर्न गाह्रो हुने र अन्ततः यसले पाचन प्रणालीमा आक्रमण गर्ने भएकाले बिरामीको मृत्यु हुन सक्ने सम्भावना निकै बढिरहेको हुन्छ । यो सम्भावनालाई न्यूनीकरण गर्न कोरोना भाइरस नियन्त्रणका लागि प्रयोग गरिने स्टेरोइड्स औषधि कस्तो खालको लाई दिन सकिन्छ र कस्तो खालको बिरामीलाई दिन सकिन्न भनेर समयमै निर्णय हुन जरुरी हुन्छ । तर, चिनीको मात्रा बढाइ दिने यो औषधि हानिकारक छ भन्ने कुरासम्म सर्वसाधारणलाई जानकारी छैन । जनस्वास्थ्यसम्बन्धी यस्तो एक अनिवार्य र जरुरी सूचना सरकार तथा सरकारका स्वास्थ्यसम्बन्धी संस्थाले बेलैमा सर्वसाधारणबीचमा पु¥याउन आँट गर्नेपर्छ । रोग लुकाएर निको हुँदैन । रोगको निदान हुन जरुरी छ । र तदनुरूप यसको उपचार र निराकरण हुन जरुरी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)