राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो सातादेखि
baahrakhari.com · Fri Jun 12 15:54:22 GMT 2026

काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा १०औँ राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार १ गतेदेखि हुने भएको छ ।
प्रतियोगितमा मोसफलका तीनसहित आठ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
मोफसलबाट सहभागी हुने टिममा अन्नपूर्ण बास्केटबल एसोसिएसन, कास्की, सुनसरी बास्केटबल एसोसिएसन र लुम्बिनी प्रदेश रहेका छन् । बाँकीमा आईएसए नेपाल, लेट्स गो बास्केटबल एकेडेमी, ट्रेनिङ ग्राउन्ड, बूढानीलकण्ठ नगरपालिका र ग्रान्डी स्टार्स छन् ।
मोफसलका टोलीलाई सहयोग स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराइने प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिए ।
विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’लाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ । मोफसलका एक उदीयमान खेलाडीलाई पाँच हजार नगदसहित पुरस्कृत गरिने छ ।
यसै प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनोट गरी साबा महिला च्याम्पियनसिपमा सहभागी गराइने संघले जनाएको छ । साबा २०२६ को सेप्टेम्बर/अक्टोबरमा नेपाल वा भारतमा हुने सम्भावना रहेको अध्यक्ष गुरुङले बताए ।
"साबाका आयोजनाका लागि हामीसँगै भारतले पनि दाबेदारी पेस गरेको छ । ८० प्रतिशत नेपालमा हुने सम्भावना छ," अध्यक्ष गुरुङले भने ।
प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख ५० हजार रुपैयाँ खर्च हुने बताइएको छ । असार ६ गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगिताका खेलहरू कीर्तिपुर कभर्डहलमा हुनेछ ।
#महिला बास्केटबल
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ