मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैदेशिक रोजगारीकाे प्रलोभनमा पारी लाखाैँ ठगी, एक महिलासहित चार जना पक्राउ

shilapatra.com · Fri Jun 12 15:53:00 GMT 2026

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै लाखाैँ रुपैयाँ ठगी गरेको अभियोगमा एक महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी अभियाेगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने सुर्खेत घर भएका ३४ वर्षीय सुनील पौडेल, भक्तपुर नगरपालिका-१ बस्ने सिन्धुपाल्चोक घर भएका २२ वर्षीय अनुप भण्डारी, ललितपुर महानगरपालिका-१५ बस्ने जाजरकोट घर भएकी ३४ वर्षीया कबिता सिंह र काठमाडौं चन्द्रागिरी नगरपालिका-११ बस्ने धादिङ घर भएका २५ वर्षीय बिशु राईलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ मध्ये सुनीलले पोल्यान्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाख १७ हजार रूपैयाँ, अनुपले कुकमा आइसल्यान्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख ५० हजार रूपैयाँ ठगी गरेर फरार भएका थिए ।

यस्तै, कबिताले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७२ हजार रूपैयाँ र बिशुले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टाेलीले सुनीललाई बुढानिलकण्ठ-९ र अनुपलाई काठमाडौं-११ बाट बिहीबार पक्राउ गरेकाे हाे । कबितालाई ललितपुर महानगरपालिका-१५ बाट र बिशुलाई काठमाडौं-१२ बाट शुक्रबार पक्राउ गरिएकाे कार्यालयले जनाएकाे छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३

२१:३८

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय