प्रलोपाद्वारा काभ्रे बस दुर्घटनाप्रति दुःख व्यक्त
ratopati.com · Fri Jun 12 16:25:18 GMT 2026

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले आज दिउँसो काभ्रेपलान्चोक जिल्लामा भएको यात्रुवाहक बस दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । सो पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङले एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
सो पार्टीले उक्त दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै प्रलोपाले घाइतेहरूको प्रभावकारी उपचार तथा प्रभावित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग अनुरोध समेत गरेको छ ।
यो खालका घटनाको पुनरावृत्ति हुन नदिन सडक सुरक्षा, सवारी व्यवस्थापन तथा यातायात सेवाको प्रभावकारी अनुगमन र नियमनमा सरकारको विशेष ध्यान जान आवश्यक रहेको ठहर समेत सो पार्टीले गरेको छ ।
साथै दुर्घटनाको निष्पक्ष छानबिन गरी वास्तविक कारण सार्वजनिक गर्न तथा आवश्यक सुधारका कदम तत्काल अघि बढाउन समेत प्रलोपाले माग गरेको छ । जारी विज्ञप्तिमा भनिएको छ : ‘यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन सडक सुरक्षा, सवारी व्यवस्थापन तथा यातायात सेवाको प्रभावकारी अनुगमन र नियमनमा सरकारको विशेष ध्यान जान आवश्यक रहेको हाम्रो ठहर छ। दुर्घटनाको निष्पक्ष छानबिन गरी वास्तविक कारण सार्वजनिक गर्न तथा आवश्यक सुधारका कदम तत्काल अघि बढाउन पनि हामी सम्बन्धित निकायसँग माग गर्दछौँ।’
दुर्घटनापछि उद्धार तथा उपचार कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि तथा सहयोगी सबैप्रति सो पार्टीले हार्दिक आभार व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)