मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित
nepalsamaya.com · Tue Mar 24 01:40:03 GMT 2026

कैलाली- कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन्। खेतमा गहुँ, मसुरोलगायत अन्नबाली पाकेर भित्र्याउने समय भएकाले मौसम बदलीले नष्ट हुने भन्दै किसान चिन्तित बनेका हुन्।
कैलालीको कैलारी गाउँपालिका–७ का महावीर चौधरीले दुई बिघा खेतमा गहुँ र एक बिघा खेतमा मसुरोको खेती गरेका छन्। उनको खेतमा गहुँ पाकेर भित्र्याउने बेलामा भएको छ भने मसुरो केही पाकेको र केही फूल फुल्ने अवस्थामा छ।
हिजोआज मौसम छिनछिनमा फेरबदल भइरहेकाले कतै पानी परेर भित्र्याउने बेला भएको अन्नबालीमा नोक्सान हुन्छ की भन्ने मनमा एक किसिमको चिन्ता हुने गरेको बताए। “केही दिनअघि मात्रै पानीसँगै आएको हावाहुरीले गहुँ र मसुरोमा केही क्षति पुर्याएको थियो”, उनले भने, “हिजोआज पनि त्यस्तै भइरहेको छ, मौसम एकनाश नभएकाले मनमा चिन्ता छ।”
कहिले घाम लाग्ने त कहिले बादल लागेर पानी पर्ने अवस्थाले खेतमा पाकेको गहुँबालीमा असर पर्ने डर बढेको यहाँका स्थानीय किसान नन्दराम साउँदले बताए। मौसम एकनाशको छैन कतिबेला पानी, हावाहुरी आउँछ कुनै ठेगान नभएकाले पाकेको बालीमा नोक्सान पुर्याउने भन्ने डर किसानमा मनमा छ।
पछिल्ला केही दिनयता कैलालीमा मौसममा आएको आकस्मिक फेरबदलले यहाँका किसान चिन्तित बनेका छन्। गहुँ भित्र्याउने समयमा मौसम अस्थिर बनेपछि यहाँका किसानलाई बाली जोगाउन सकस परेको छ। बेमौसमी वर्षा र हावाहुरीले गहुँबाली ढल्ने, भाँचिने तथा खेतमै बिग्रिने हो कि भन्ने किसानका मनमा डर देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)