मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित
shilapatra.com · Tue Mar 24 03:15:00 GMT 2026

कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । खेतमा गहुँ, मसुरोलगायत अन्नबाली पाकेर भित्र्याउने समय भएकाले मौसम बदलीले नष्ट हुने भन्दै किसान चिन्तित बनेका हुन् ।
कैलालीको कैलारी गाउँपालिका– ७ का महावीर चौधरीले दुई बिघा खेतमा गहुँ र एक बिघा खेतमा मसुरोको खेती गरेका छन् । उनको खेतमा गहुँ पाकेर भित्र्याउने बेलामा भएको छ भने मसुरो केही पाकेको र केही फूल फुल्ने अवस्थामा छ ।
हिजोआज मौसम छिनछिनमा फेरबदल भइरहेकाले कतै पानी परेर भित्र्याउने बेला भएको अन्नबालीमा नोक्सान हुन्छ कि भन्ने मनमा एक किसिमको चिन्ता हुने गरेको बताए । ‘केही दिनअघि मात्रै पानीसँगै आएको हावाहुरीले गहुँ र मसुरोमा केही क्षति पुर्याएको थियो’, उनले भने, ‘हिजोआज पनि त्यस्तै भइरहेको छ, मौसम एकनाश नभएकाले मनमा चिन्ता छ ।’
कहिले घाम लाग्ने त कहिले बादल लागेर पानी पर्ने अवस्थाले खेतमा पाकेको गहुँबालीमा असर पर्ने डर बढेको यहाँका स्थानीय किसान नन्दराम साउँदले बताए । मौसम एकनाशको छैन कतिबेला पानी, हावाहुरी आउँछ कुनै ठेगान नभएकाले पाकेको बालीमा नोक्सान पुर्याउने भन्ने डर किसानमा मनमा छ ।
पछिल्ला केही दिनयता कैलालीमा मौसममा आएको आकस्मिक फेरबदलले यहाँका किसान चिन्तित बनेका छन् । गहुँ भित्र्याउने समयमा मौसम अस्थिर बनेपछि यहाँका किसानलाई बाली जोगाउन सकस परेको छ । बेमौसमी वर्षा र हावाहुरीले गहुँबाली ढल्ने, भाँचिने तथा खेतमै बिग्रिने हो कि भन्ने किसानका मनमा डर देखिएको हो ।
प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२
०९:००
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)