नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रबृत्ति अक्षयकोष स्थापना
lokaantar.com · Mon Mar 06 00:46:57 GMT 2023
नेपाल प्रहरी र एभरेष्ट बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारी भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच सो सहमति भएको हो ।
सो अवसरमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई हस्तान्तरण गरे । सो अवसरमा दुवै पक्षबीच समझदारीपत्र आदान प्रदानसमेत भएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सम्झौताको लागि एभरेष्ट बैंकलाई धन्यवाद दिँदै यसबाट बढीभन्दा बढी प्रहरी कर्मचारीका सन्तती लाभान्वित हुने विश्वास व्यक्त गरे । एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई विभिन्न सहयोग गर्दैआएका कारण प्रहरीको कार्य सञ्चालनमा सहजता ल्याउन थप टेवा पुगेको उनले चर्चा गरे ।
प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले बैंकलाई कानुनबमोजिम गर्ने सुरक्षा र सहयोग निरन्तर प्रदान गर्दैआएको स्मरण गरे । सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च हुने चर्चा गर्दै आगामी दिनमासमेत नेपाल प्रहरी र बैंकबीच आपसी सहयोग आदानप्रदान हुने अपेक्षा गरे ।
उक्त अवसरमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न क्षेत्रमा सहयोग गर्दैआएको चर्चा गर्दै अहोरात्र नागरिकको जिउधनको सुरक्षामा खटिने नेपाल प्रहरीलाई योगदान गर्न पाउँदा थप सन्तुष्टि प्राप्त भएको बताए । सम्झैताबाट बढीभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा गर्दै उत्पादित जनशक्तिबाट भविष्यमा देश निर्माणका लागि थप सहयोग पुग्ने बताए ।
सम्झौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुने बताइएको छ ।
सम्झौताअनुसार छात्रवृत्ति प्रदान गर्न कम्तीमा २५ लाख रूपैयाँ एभरेष्ट बैंकले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता सञ्चालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ ।
आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध हुनेछ । नेपाल पुलिस स्कुलहरूले विद्यार्थीको समयानुकूल शुल्क परिमार्जन भई बृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या समाधान गरिनेसमेत समझदारीपत्रमा उल्लेख छ ।
उक्त समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र एभरेष्ट बैंकको तर्फबाट बैंकका नायव महाप्रबन्धक केशवराज पौडेलले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)