मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल सुपर लिग : झापा र काठमाडौंले अंक बाँडे

nayapatrikadaily.com · Tue Dec 05 00:43:00 GMT 2023

नयाँ टोली झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) को साबिक विजेता काठमाडौं रेजर्ससँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा दुवै टोली बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै टोलीले गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । दोस्रोपटक आयोजना भएको प्रतियोगिताको १३औँ खेलमा दुवै टोलीले आशाअनुसारको प्रदर्शनसमेत गर्न सकेनन् । बराबरीपछि काठमाडौंले शीर्ष स्थान उक्लने अवसर गुमायो ।

काठमाडौंको यो लगातार दोस्रो बराबरी हो । काठमाडौंको तीन खेलबाट पाँच अंक छ । काठमाडाैंले उद्घाटन खेलमा स्पोर्टिङ इलाम एफसीलाई १–० ले हरायो । दोस्रो खेलमा उसले एफसी चितवनसँग १–१ गोलको बराबरी खेलेको थियो । यता, समान तीन खेलबाट दुई अंक जोडेको झापा सातौँ स्थानमा छ । झापा पहिलो खेलमा स्पोर्टिङ इलामसँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा पोखरा थन्डर्ससँग १–१ को बराबरी रोकिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)