मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधान न्यायाधीशमा डा. शर्मा

gorkhapatraonline.com · Wed May 20 00:50:12 GMT 2026

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको छ । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुभएको हो । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रधान न्यायाधीश नियुक्तिको व्यवस्था छ । अनुमोदनलगत्तै शर्माको नियुक्ति भएको हो । उहाँले मङ्गलबार नै पद तथा गोपनीयताको शपथ लिई पदभार समाल्नुभएको छ ।

सर्वोच्चमा कार्यरत न्यायाधीशमध्ये रोलक्रमको चौथो नम्बरमा रहनुभएका शर्मालाई संवैधानिक परिषद्को बैठकले वैशाख २४ गते प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो । वरिष्ठतामा न्यायाधीश शर्माभन्दा अगाडि तीन जना हुनुहुन्थ्यो । कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाँल शर्माभन्दा अघि हुनुहुन्थ्यो । वरिष्ठताक्रम पालना नभएकोमा प्रमुख प्रतिपक्ष दलका नेता र राष्ट्रिय सभा अध्यक्षले निर्णयमा फरक मत लेख्नुभएको थियो । प्रधान न्यायाधीशका रूपमा संविधानले तोकेको छ वर्षको कार्यावधि शर्मासँग छ । पदको अधिकतम समय पूरा गरेर शर्मा अवकाश हुनुहुने छ । हालसम्मका अधिकांश प्रधान न्यायाधीश ६५ बर्से उमेर हदका कारण अवकाश पाउँदै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)