सुनकोसी–मरिन डाइभर्सन : १३.३ किमि लामो सुरुङ खन्न सुरु
nayapatrikadaily.com · Sat Oct 15 00:43:00 GMT 2022
राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको १३.३ किलोमिटर लामो सुरुङ खन्न सुरु भएको छ । निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले अमेरिकी प्रविधिको टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिमार्फत शुक्रबारदेखि उक्त सुरुङ खन्न सुरु गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा जलस्रोत तथा सिँचाइसचिव सागरकुमार राई, सहसचिव बाबुराम भण्डारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, उपमहानिर्देशक रुकमागत खनालसहितको टोलीको उपस्थितिमा सुरुङ खन्ने काम सुरु गरिएको हो । प्राविधिक कठिनाइ नआए दुई वर्षभित्र सुरुङको निर्माण सम्पन्न हुने बताइएको छ ।
तराईको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने र ३१ मेगावाट विद्युत्समेत उत्पादन गर्ने लक्ष्यसहित सरकारले यो आयोजना अघि बढाएको थियो । २० फागुन ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यस आयोजनाको शिलान्यास पनि गरेका थिए । त्यसको १९ महिनापछि सुरुङको निर्माण सुरु भएको हो । उक्त सुरुङ निर्माण गर्न सिँचाइ विभाग र कम्पनीबीच चैत ०७७ मा १० अर्ब पाँच करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर, अमेरिकामा टिबिएम मेसिन बनाएर नेपालमा ढुवानी गर्न समय लागेपछि निर्माण सुरु गर्न ढिलाइ भएको हो । सरकारले उक्त सुरुङ निर्माण गर्न १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो । तर, उक्त कम्पनीले त्योभन्दा पनि कम लागतमा सुरुङ बनाउने प्रस्ताव गरेको थियो । यसअघि उक्त कम्पनीले भेरी बबई सिँचाइ आयोजनाको सुरुङ निर्माण गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)