मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भविष्य बनाउन पर्देशिएका उमेस दुबै खुट्टा गुमाएर फर्किए

kendrabindu.com · Wed May 20 03:53:21 GMT 2026

झापा । भविष्य बनाउने सपना बोकेर दुबई पुगेका झापाको कनकाई नगरपालिका–५ बेनुबाजाका २६ वर्षीय उमेश खाती दुर्लभ रोगका कारण दुवै हात–खुट्टा गुमाउँदा परिवारमा गहिरो संकट परेको छ ।

उमेश आबुधावीस्थित आर्मफोर्स अफिसर्स क्लब एन्ड होटलमा हाउस किपिङ गर्थे । गत चैत २ गते उनको जीवनकै सबैभन्दा पीडादायी दिन बन्यो । बिहान नित्यकर्मका लागि बाथरुम छिरेका उनी त्यहीं ढले । संयोगवश कम्पनीकै एक सेक्युरिटी गार्डले देखेपछि उद्धार भयो ।

उमेशले भने, ‘सास फेर्न अप्ठेरो जस्तो भएपछि अस्पताल भर्ना गरियो ।’ अस्पताल पुगेर उनले श्रीमती तीर्थालाई ‘भ्वाइस म्यासेज’ पठाएर बिरामी भएको जानकारी गराएका थिए । ‘समयमै उपचार पाएर ज्यान बच्यो,’ उनले भने । ।

खासमा उमेश ‘ड्राई ग्याङ्ग्रिन’ नामको अनौठो रोगबाट पीडित भएका थिए । चिकित्सकहरूका अनुसार यो रोगका कारण शरीरको जुनसुकै भागमा रक्तसञ्चार प्रक्रिया बन्द हुन्छ । गम्भीर ‘ब्याक्टेरियल’ संक्रमणका कारण अत्यन्त जोखिमपूर्ण मानिने यो रोगको समयमै उपचार नभए ज्यानसमेत जान सक्छ ।

बाथरुमबाट उद्धार गरी अस्पताल पुर्‍याएपछि लामो समयसम्म होस नफर्किंदा चिकित्सकले पनि उनलाई लगभग ‘माया मारिसकेका’ थिए । दुबईमै कार्यरत नातेदार भाइ विवेक खाती उनलाई हेर्न अत्तालिँदै अस्पताल पुगे । भेन्टिलेटरमा राखिएका दाइलाई देखेर विवेक पनि निराश भइसकेका थिए ।

अचानक उमेशको शरीर हल्का चलमलायो । उनले दायाँ हातका औंला सल्बलाएको देखेपछि विवेकले चिकित्सकलाई बोलाए । त्यसपछि चिकित्सकको टोलीले थप उपचार प्रक्रिया अघि बढायो । ‘विवेक भाइले थाहा नपाएको भए त म यतिबेला बाँच्ने नै थिइनँ होला,’ उमेशले सुनाए, ‘मैले त दोस्रो जीवन पाएँ ।’ उपचार सुरु भएको १३ औं दिनमा उमेशको होस फर्कियो ।

अस्पतालका चिकित्सकले ग्याङ्ग्रिनले प्रभावित दुवै हात र खुट्टा तत्काल काट्नुपर्ने भन्दै परिवारको सहमति मागेका थिए । ढिलाइ भए संक्रमण झन् फैलिन सक्ने र ज्यानसमेत जोखिममा पर्ने चिकित्सकको चेतावनीले उमेश दोहोरो पीडामा थिए । घाउको पीडा असह्य बन्दै गएपछि उनी जसरी पनि शल्यक्रिया गराउने मनस्थितिमा पुगे । तर, आबुधावीमा उपचार अत्यन्तै खर्चिलो थियो ।

यूएईमा हरेक कामदारको स्वास्थ्य उपचारका लागि अनिवार्य बिमा गरिएको हुन्छ । तर, रोजगारदाता कम्पनीले यूएईमा उपचार नगरी नेपाल पठाउन जोड दिएको थियो । अन्ततः परिवारको सल्लाहअनुसार कम्पनीले भाइ विवेकको साथ लगाएर उनलाई नेपाल पठाइदियो । त्रिवि शिक्षण अस्पतालका चिकित्सकले ढिला गरे अवस्था झन् जटिल बन्न सक्ने संकेत गरेपछि परिवार अन्ततः शल्यक्रियाका लागि तयार भयो । शल्यक्रियाका लागि खर्च जुटाउन घरमा पालेको गाई, भैंसी, कुखुरा, बाख्रा सबै बेचेर ५ लाख पनि जुटाउन नसक्दा मनकारीले केही रकम सहयोग गरेपछि ४ वैशाखमा उमेशको शल्यक्रिया भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)