छठ पूजास्थल गौरीघाट-गुह्येश्वरी क्षेत्रमा विशेष सफाइ
ekagaj.com · Sat Oct 29 16:01:21 GMT 2022
काठमाडौँ- छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिन छठ घाट निर्माण भइरहेको गौरीघाट गुह्येश्वरी क्षेत्रमा विशेष सफाइ गरिएको छ । बागमती सफाइ महाअभियानको ४९४औँ हप्तामा छठ पूजाको तयारी भइरहेको स्थलमा आज सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । त्यस क्षेत्रको बागमती नदी, नदीको किनार, सडक किनार एवं मन्दिर अगाडिको भागमा सफाइ गरिएको थियो ।
सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, पशुपति क्षेत्र विकास कोषका कर्मचारी, अभियानकर्मी, छठ पूजा समितिका पदाधिकारी एवं सदस्यलगायतको सफाइमा सहभागिता थियो । सफाइबाट नकुहिने फोहर दुई टन व्यवस्थापन गरिएको छ । अर्को हप्ता शनिबार पनि पशुपति क्षेत्रको राम मन्दिरअघिको भष्मेश्वर घाट क्षेत्रमा सफाइ गरिने अभियानकर्मी शाहीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)