इबोला प्रतिबन्धबिच कंगोको फुटबल टोलीलाई विश्वकप खेल्न अमेरिका प्रवेश दिइने
ratopati.com · Wed May 20 06:10:00 GMT 2026

वाशिङटन डीसी । अमेरिकाले इबोला सङ्क्रमणका कारण लगाइएको यात्रा प्रतिबन्धबीच पनि कङ्गो लोकतान्त्रिक गणतन्त्रमा (डीआर कंगो)को राष्ट्रिय फुटबल टोलीलाई २०२६ विश्वकप खेल्न देश प्रवेश गर्न दिने भएको छ । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले कंगोको टोली विश्वकपमा सहभागी हुन पाउने सुनिश्चित गरिएको बताएका हुन् । “हामी डीआर कंगोको टोली विश्वकपमा उपस्थित हुन सक्ने अपेक्षा गर्छौ,” नाम सार्वजनिक नगर्ने सर्तमा उनले भनेको भन्दै अलजजिराले समाचार छापेको छ ।
अमेरिकाले हालै डीआर कंगो, युगान्डा र दक्षिण सुडानमा पछिल्लो २१ दिनभित्र रहेका गैर–अमेरिकी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो । यी देशहरूमा फैलिएको घातक इबोला सङ्क्रमणलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको हो । तर डीआर कंगोको फुटबल टोली हाल युरोपमा प्रशिक्षण गरिरहेकोले उनीहरू प्रतिबन्धको दायरामा नपर्न सक्ने अमेरिकी अधिकारीले बताएका छन् ।
यद्यपि टोलीका सदस्य हालै डीआर कंगोमा रहेका भए उनीहरूलाई अमेरिकामा फर्किने अमेरिकी नागरिकसरह कडा स्वास्थ्य परीक्षण र आइसोलेसन प्रक्रियाबाट लैजाने तयारी गरिएको छ ।
अधिकारीका अनुसार टोलीलाई विशेष स्वास्थ्य प्रोटोकलअन्तर्गत परीक्षण तथा निगरानीमा राखिनेछ । “हामी उनीहरूलाई अमेरिकी नागरिक र स्थायी बसोबास अनुमति प्राप्त व्यक्तिले अपनाउने परीक्षण तथा आइसोलेसन प्रक्रियामा समावेश गर्ने काम गरिरहेका छौं,” उनले भने ।
तर यो छुट साधारण समर्थक वा दर्शकहरूका लागि लागू नहुने पनि स्पष्ट गरिएको छ । अर्थात् डीआर कंगोबाट आउने समर्थकहरू भने हालको यात्रा प्रतिबन्धका कारण अमेरिका जान नपाउने सम्भावना छ ।
२०२६ को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । डीआर कंगोको पहिलो खेल जुन १७ मा अमेरिकाको टेक्सासमा पोर्चुगलविरुद्ध खेल्ने तालिका छ । विश्वकपका लागि डीआर कंगो छनोट हुने तीन प्रभावित देशमध्ये एकमात्र राष्ट्र हो । अमेरिकी सरकारले सार्वजनिक स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै खेल प्रतियोगिताको व्यवस्थापनमा लचकता अपनाएको विश्लेषण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)