एन्फा विशेष साधारणसभा आज : एन्फा अध्यक्ष नेम्वाङले अविश्वासको प्रस्ताव सामना गर्ने
nayapatrikadaily.com · Thu Nov 09 00:26:00 GMT 2023
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले बिहीबार आफूविरुद्ध लागेको अविश्वासको प्रस्तावको सामना गर्दै छन् । एन्फाले बागमती प्रदेशको राजधानी हेटौँडामा विशेष साधारणसभा गर्दै छ । विशेष साधारण सभाका लागि एन्फाले कार्यसूची तयार गरिसकेको छ । गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष र महासचिव किरण राईमाथि बर्खास्तीको निवेदन राखेका थिए । नेतृत्वमा पुगेको एक वर्ष नपुग्दै अध्यक्ष र महासचिवले आफूविरुद्ध बर्खास्त सामना गर्नुपरेका हुन् । एन्फामा कुल १०५ सदस्य छन् । जसमध्ये साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ ।
एन्फाको गत १७ असोजमा आपत्कालीन बैठक बसेको थियो । सो बैठकले महासचिव राईको बर्खास्तगी कार्यसमितिले मात्रै गर्न सक्ने र अध्यक्षले विशेष साधारणसभाबाट अविश्वासको प्रस्ताव सामना गर्ने निर्णय गरेको थियो । सो आपत्कालीन बैठकमा १२ सदस्य सहभागी भएका थिएनन् । हैटौँडामा बुधबार बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो ४ बजे मात्र बस्न सक्यो । बैठकले मकवानपुरमा साधारणसभा गर्ने निर्णय गरेको हो । अध्यक्ष नेम्वाङले आवश्यक मत प्राप्त गर्न नसक्ने बैठकमा सहभागी एक सदस्यले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)