मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्गन्धबाट मुक्त हुँदै बाम्का बजार

gorkhapatraonline.com · Fri Jun 05 03:25:47 GMT 2026

बाजुराको बुढीगङ्गा नगरपालिका–६ मा रहेको बाम्का बजार लामो समयदेखि फैलिएको दुर्गन्धबाट विस्तारै मुक्त हुँदै गएको छ। बजार क्षेत्रमा जथाभावी दिसापिसाब गर्ने तथा फोहरमैला व्यवस्थापन नहुँदा बाम्का बजार लामो समयदेखि दुर्गन्धित बन्दै आएको थियो।

हाल बाम्का बजार व्यवस्थापन समितिको पहलमा फोहरमैला व्यवस्थापनलाई प्राथमिकता दिइएपछि बजारको अवस्था सुधार हुँदै गएको हो। जिल्लाको तल्लो क्षेत्रको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको यो बजारबाट त्रिवेणी, बुढीगङ्गा र खप्तड छेडेदह लगायतका स्थानीयले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्न खरिद–बिक्री गर्दै आएका छन्।

यहाँ दैनिक करिब एक करोड रुपियाँभन्दा बढीको कारोबार हुने गरेको छ। आसपासका विभिन्न गाउँबस्तीबाट आउने ग्राहकका कारण बजारमा दिनहुँ ठुलो भीड लाग्ने गर्छ।

बजार क्षेत्रमा सिलाइ–कटाइ, भाँडावर्तन, हार्डवेयर, पुस्तक पसल, होटल तथा चिया पसल, मासु पसल, किराना लगायत करिब एक सयभन्दा बढी पसल सञ्चालनमा छन्।

यसअघि फोहरमैला व्यवस्थापनका लागि डस्टबिन र सार्वजनिक शौचालयको अभाव थियो। अहिले बजारका विभिन्न स्थानमा डस्टबिन राखिनुका साथै शौचालय निर्माण भएपछि बजार सफा र व्यवस्थित बन्दै गएको बजार व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र गिरीले बताउनुभयो।

उहाँले भन्नुभयो, “बाम्का बजार जिल्लाकै मुख्य व्यापारिक केन्द्र हो। यो जिल्लाको मुख्य प्रवेशद्वारका रूपमा पनि चिनिन्छ। यहाँबाट विभिन्न स्थानमा सवारीसाधन आवतजावत गर्छन्।”

उहाँका अनुसार बजारमा आउने सेवाग्राहीको संख्या धेरै भएकाले सार्वजनिक शौचालयको आवश्यकता लामो समयदेखि थियो। पालिकासँगको समन्वयमा शौचालय निर्माण भएपछि बजारको अवस्था उल्लेख्य रूपमा सुधार भएको उहाँको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)