नागरिकको जीवन सहज बनाउनै पर्छ, स्वास्थ्य, शिक्षा र रोजगारी पाउनै पर्छ : बालेन शाह
farakdhar.com · Mon Dec 15 07:13:31 GMT 2025

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिकका दैनिक जीवन सहजताको लागि स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्द्धन जस्ता कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रूपमा कार्यान्वयनमा ल्याएको बताएका छन् ।
३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको भन्दै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिएको बताए ।
उनले भने, ‘काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको छ । आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र महानगरपालिकाले नियमित काम गर्ने क्षेत्र हुन् । महानगरले नियमित कामसँगै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिन स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधारका कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रूपमा कार्यान्वयनमा ल्याएको छ ।’
उनले महानगरले धूलोरहित सडक कार्य अन्तर्गत ५५ किलो मिटर सडक सुधारको काम सम्पन्न गरेको, ६२ वटा चोकमा लाइट जडान गरेको, सडक बत्तिको गुणस्तर कायम गराउन रात्रिकालिन सहरी सौन्दर्यलाई एकनास बनाउन ५ हजार ३ सय १८ वटा पोलमा १३ हजार ३ सय ४० वटा बत्ती राखेर सहरलाई उज्यालो बनाउँदै गरेको पनि जानकारी दिए ।
उनले भने, ‘आम नागरिकको प्रत्यक्ष चासोका रूपमा रहेका निरन्तर सञ्चालन हुने कार्य मध्य प्राथमिकतामा राख्नु पर्ने कामलाई स्वर्णिम योजनाका रूपमा राखिएको छ । यसरी सञ्चालन गरिएको कार्यक्रम मध्य धूलोरहित सडक कार्य अन्तरगत ५५ किलो मिटर सडक सुधारको काम सम्पन्न भएको छ । ६२ वटा चोकमा लाइट जडान गरिएको छ । सडक बत्तिको गुणस्तर कायम गराउन रात्रिकालिन सहरी सौन्दर्यलाई एकनास बनाउन ५ हजार ३ सय १८ वटा पोलमा १३ हजार ३ सय ४० वटा बत्ती राखेर सहरलाई उज्यालो बनाउँदैछौँ ।’
यस वर्ष १ हजार ८६ जना विपन्न नागरिकको उपचार सिफारिस गरेको, बेवारिसे, विपन्न र बेसहारा निशूल्क उपचार अन्तरगत २ सय १० जनालाई निशूल्क उपचार सेवा प्रदान गरेको पनि उनले जानकारी दिएका छन् ।
उनले भने, ‘यस वर्ष १ हजार ८६ जना विपन्न नागरिकको उपचार सिफारिस भयो, बेवारिसे, विपन्न र बेसहारा निशूल्क उपचार अन्तरगत २ सय १० जनालाई निशूल्क उपचार सेवा प्रदान गरियो । ३२ वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्रसहित ३५ वटा स्वास्थ्य संस्था, जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेका छौ । १० वटा केन्द्रलाई बिमाका प्रथम सेवा विन्दुका रूपमा सञ्चालन गरेका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)