मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चिया निर्यातकाे अवराेध हट्याे, प्रत्येक ट्रककाे नमूना सङ्कलन गर्नु नपर्ने तर ‘र्यान्डम’ परीक्षण  गर्ने

arthadabali.com · Wed May 20 07:41:48 GMT 2026

काठमाडौँ / नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध तत्कालका लागि हटेको छ। भारतीय चिया बोर्डले आयातित चियामा लागू गरेको अनिवार्य प्रयोगशाला परीक्षणसम्बन्धी ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी)’ संशोधन गरेसँगै नेपाली चिया पुनः सहज रूपमा भारत निर्यात हुने भएको हो।

मे १ देखि लागू गरिएको कडा नियमका कारण पछिल्ला दुई सातादेखि नेपाली चिया निर्यात पूर्ण रूपमा प्रभावित बनेको थियो। तर, भारतीय वाणिज्य मन्त्रालयको निर्देशनपछि टी बोर्डले संशोधन गर्दै भारतमा घरेलु बिक्रीका लागि ल्याइने चियालाई अनिवार्य परीक्षणबाट अस्थायी रूपमा छुट दिएको जनाएको छ।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार संशोधित व्यवस्थाले तत्कालका लागि चिया निर्यात पुनः सहज बनाएको छ। “एसओपी संशोधनसँगै अब नेपालबाट पहिलेझैँ चिया भारत जान्छ,” उनले बताए।

यसअघि लागू गरिएको नयाँ नियमअनुसार प्रत्येक कन्साइनमेन्ट (ट्रक) को अनिवार्य प्रयोगशाला परीक्षण, उच्च शुल्क र लामो प्रतीक्षा समयका कारण नेपाली चिया उद्योगी, निर्यातकर्ता तथा किसानहरू गम्भीर समस्यामा परेका थिए। भारत प्रवेश गर्ने प्रत्येक ट्रकको नमूना सङ्कलन गरी प्रयोगशालामा पठाउनुपर्ने व्यवस्था गरिएको थियो, जसले ढिलासुस्ती र लागत बढाएको थियो।

उद्योगीका अनुसार प्रति ट्रक करिब १८ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने र परीक्षण प्रतिवेदन आउन कम्तीमा १०–१४ दिन लाग्ने अवस्थाले निर्यात नै ठप्प बनेको थियो। परीक्षण असफल भएमा चिया जफत हुन सक्ने कडा प्रावधान पनि राखिएको थियो।

नयाँ संशोधनअनुसार अब भारतमा पुनः निर्यातका लागि ल्याइने चियामा भने अनिवार्य परीक्षण कायम रहनेछ। तर भारतभित्र घरेलु बिक्रीका लागि ल्याइने चियामा अनिवार्य परीक्षण हटाइएको छ। यद्यपि, ‘र्यान्डम’ परीक्षण भने गर्न सकिने व्यवस्था छ।

उद्योगीहरूले नेपालबाट भारत जाने अधिकांश चिया घरेलु बजारमै जाने भएकाले यो निर्णयले सीमामा हुने ढिलासुस्ती घटाउने, लागत कम गर्ने र व्यापार सहज बनाउने अपेक्षा गरेका छन्।

भारतले गुणस्तर नियन्त्रण र मिसावट रोक्ने उद्देश्यले कडा नियम लागू गरेपछि वैशाख १८ यता नेपाली चिया निर्यात ठप्प जस्तै बनेको थियो। पश्चिम बंगालस्थित भारतीय टी बोर्डका कर्मचारीहरूले समेत व्यापारीहरूलाई नेपालबाट चिया नल्याउन चेतावनी दिएका रिपोर्ट सार्वजनिक भएका थिए।

यसबीच, काठमाडौंस्थित नेपाली दूतावासले भारतीय वाणिज्य मन्त्रालयसँग निरन्तर कूटनीतिक पहल गर्दै अवरोध हटाउन प्रयास गरेको थियो। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकारीहरूले पनि समस्या समाधानतर्फ सकारात्मक संकेत आएको बताएका छन्।

नेपालमा हाल करिब १२० चिया उद्योग, १७० ठूला चिया बगान र १२० भन्दा बढी साना–मझौला उद्योग तथा बगान सञ्चालनमा छन्। यस क्षेत्रमा करिब १५ हजार साना किसान र एक लाखभन्दा बढी श्रमिक प्रत्यक्ष रूपमा संलग्न छन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट करिब २ करोड ६१ लाख किलोग्राम चिया उत्पादन भएको थियो भने करिब ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात गरिएको थियो। नेपालबाट निर्यात हुने चियाको मुख्य बजार भारत नै हो, जहाँ ९० प्रतिशत अर्थोडक्स र झन्डै आधा सिटिसी चिया जाने गर्छ।

नेपालको चिया उद्योगले वार्षिक करिब ५–६ अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जन गर्दै आएको छ। तर पछिल्लाे केही सातादेखिकाे अवरोधले किसानदेखि उद्योगीसम्म ठूलो आर्थिक दबाब सिर्जना गरेको व्यवसायीहरूले बताएका छन्।

हालको संशोधित निर्णयपछि चिया उद्योगले तत्काल राहत पाएको र निर्यात प्रक्रिया क्रमशः सामान्य हुने अपेक्षा गरिएको छ।

सम्बन्धित विषय:

# निर्यात

# चिया

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)