मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संक्रमणकालीन न्याय सम्बन्धी विषय वर्तमान सरकारले टुंगो लगाउन नसके अरू कुनै सरकारले सक्दैनः सभापति बाँस्कोटा

setopati.com · Thu Jun 04 08:19:32 GMT 2026

कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बाँस्कोटाले संक्रमणकालीन न्याय सम्बन्धी थाँती रहेका काम छिटो टुंगो लगाउन सरकारसँग आग्रह गरेकी छन्।

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति बाँस्कोटाले संक्रमणकालीन न्याय निरूपण लगायतका मानव अधिकारसँग सम्बन्धित थाँती रहेका सबै कामहरू सम्पन्न गर्न सरकारलाई सचेत गराएकी हुन्।

उनले उक्त कामलाई सम्पन्न गर्नका लागि कानूनमा सुधार ल्याउने काममा समितिले संयोजनकारी भूमिका निर्वाह गर्न तयार रहेको पनि बताइन्।

सरोकारवालाहरूसँग बसेर संक्रमणकालीन न्याय निरूपणमा देखिएका समस्या समाधान हुनेगरी कानून निर्माण गर्ने काम समिति लागिपर्ने सभापति बाँस्कोटाको प्रतिबद्धता छ।

उनले सरकारले संक्रमणकालीन न्याय निरूपणका लागि प्रतिबद्धता जनाएको उल्लेख गर्दै त्यसलाई छिटो निष्कर्षमा पुर्‍याउनुपर्ने बताइन्।

सभापति बाँस्कोटाले भनिन्, ‘हामीले विभिन्न मानव अधिकारमा हाम्रो कमिटमेन्ट हन्ड्रेड पर्सेन्ट हो। विभिन्न टाइमदेखि मानव अधिकारका विषयहरू थाँती रहेका छन्। चाहे त्यो सत्य निरूपणको विषय होला, चाहे त्यो बेपत्ता पारिएका विषय होला। त्यो सबैलाई अहिलेको सरकारले टुंगो लगाएर जान सकेन भने अब कुनै पनि सरकारले टुंगो लगाउन सक्दैन। त्यसमा हाम्रो हन्ड्रेट पर्सेन्ट कमिटमेन्ट गोभरर्मेन्टको तर्फबाट, कानून मन्त्रालयको तर्फबाट पनि त्यो लेवलको कमिटमेन्ट आएको छ। लहरमा प्रबलम छ। त्यसमा हामी सोलुसन बेस पोलिटिक्स गर्न चाहन्छौँ। के हो त सोलुसन? त्यसमा काम गर्न चाहन्छौँ।’

उनले अगाडि भनिन्, ‘केही साथीहरूलाई मैले यहीबाट जानकारी पनि गराएँ–कानून, न्याय तथा मानव अधिकार समितिमा धेरै विकास साझेदारका साथीहरू आउनुहुन्छ् । र विभिन्न फोरमहरूमा आएर पोलिसीमा सुधार गरौँ भनेर भन्नुहुन्छ। मैले आएदेखि यो समितिको हल छ। त्यसमा हामी सम्बन्धित पक्षसँग छलफल गर्न तयार छौँ। हामी तपाईहरुलाई नै इन्भाईट गरेर कहाँ कहाँ समस्या छन्, समाधान गरौँ। हाम्रो कानून निर्माण गर्न आएको हौँ। त्यसमा काम गर्छौं।’

सभापति बाँस्कोटाले मुलुकमा विद्यमान समस्याहरूलाई सम्बोधन हुनेगरी कानून निर्माण गर्ने काममा आफूहरू लागिपरेको जिकिर पनि गरिन्।–न्युज एजेन्सी नेपाल

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)