जय ट्रफीको निम्ति छनोट भए ६ टोली, को-को परे ?
baahrakhari.com · Wed Apr 15 11:22:56 GMT 2026

काठमाडौं । जय ट्रफीको आगामी संस्करण खेल्ने ६ वटै टोलीको टुंगो लागेको छ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लिग चरण पूरा भएसँगै जय ट्रफी खेल्ने ६ वटै टिमको टुंगो लागेको हो ।
जय ट्रफीमा प्रधानमन्त्री कपका शीर्ष ६ टिम छनोट हुने प्रावधान छ क्यानले गत चैत्र २६ गते प्रतियोगिताका चार शीर्ष टिम छनोट हुने प्रावधान परिमार्जित गर्दै ६ टिमसम्म पुर्याएको थियो ।
जय ट्रफी खेल्ने टिमहरूमा शीर्ष ६ का विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेश छन् ।
समूह चरणमा आर्मी १७ अंकका साथ शीर्ष स्थानमा रह्यो । सुदूरपश्चिम १२ अंकका साथ दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानको एपीएफले ११ अंक बनाएको थियो । समान अंक जोडे पनि रन रेटले पछि पर्दा मधेस चौथो स्थानमा सीमित भयो । पुलिस र लुम्बिनीले समान नौ अंक बनाए पनि रट रेटका आधारमा पाँचौँ र छैटौँ स्थानमा चित्त बुझाए ।
निर्णायक खेलमा मधेसको जित
आजै सम्पन्न अन्तिम तथा निर्णायक खेलमा मधेस प्रदेशले विभागीय टिम नेपाल पुलिस क्लबलाई चार विकेटले पराजित गर्दै जय ट्रफीमा स्थान बनाएको छ । तालिकाको चौथो शीर्ष टोलीको रूपमा जय ट्रफीमा स्थान बनाएको मधेसलाई उक्त खेलमा जित्नै पर्ने दबाब थियो । खेलमा पराजित भएको भए मधेस जय ट्रफीको निम्ति छनोट नहुन सक्ने सम्भावना उच्च थियो ।
पुलिसले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको मधेसले २४.१ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको थियो । हारका बाबजुद पुलिसले भने पाँचौँ शीर्ष टोलीको रूपमा जय ट्रफीमा स्थान सुरक्षित गरेको छ ।
आर्मी एक मात्र अपराजित टोली, कोसी जितविहीन
हरेक प्रदेशका एक टिमसहित विभागीय टिमहरू आर्मी, पुलिस र एपीएफ गरी कूल १० टिमले ‘सिंगल राउण्ड रोबिन प्रणाली’ का आधारमा कूल ९१ खेल खेले ।
९१ खेल सम्पन्न हुँदा शीर्ष टोली समेत रहेका आर्मी एक मात्र अपराजित टोली बन्यो । १७ अंक जोडेको आर्मीले नौ खेलमा आठ जित हासिल गरेको थियो । टोलीको एक खेल भने रद्द भएको थियो ।
आर्मीले पहिलो खेलमा पुलिसलाई २२ रन, दोस्रो खेलमा गण्डकीलाई सात विकेट, चौथो खेलमा वाग्मतीलाई तीन विकेट, पाँचौँ खेलमा मधेसलाई ६ विकेटले हराएको थियो ।
यस्तै, छैटौँ खेलमा कर्णालीलाई १३८ रन, सातौँ खेलमा सुदूरपश्चिमलाई सात विकेट, आठौँ खेलमा कोसीलाई १८५ रन र नवौँ खेलमा लुम्बिनीलाई एक विकेटले पराजित गरेको थियो । एपीएफविरुद्धको तेस्रो खेल भने रद्द भएको थियो ।
यता, कोसी प्रदेश भने प्रतियोगिताको एक मात्र जितविहीन टोली बन्यो । कोसीले नौ खेल खेल्दा आठ खेलमा हार व्यहोर्यो । कोसीको एक खेल रद्द भएको थियो ।
यसपछि भएका खेलहरूमा क्रमशः कोसीले लुम्बिनीसँग १४८ रन, कर्णालीसँग १६ रन, सुदूरपश्चिमसँग सात विकेट, पुलिससँग ६ विकेट, गण्डकीसँग ३९ रन, वाग्मतीसँग सात विकेट, एपीएफसँग पाँच रन र आर्मीसँग १८५ रनको हार व्यहोरेको थियो ।
#क्रिकेट
#जय ट्रफी
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)