बोरामा भरेर राखिएका थिए २७५ किलो सुनचाँदी, फिल्मी शैलीमा लुकाइएको थियो कालो धन
ratopati.com
भारतको कानपुरमा अत्तर व्यवसायी पियूष जैनको घरबाट कालो धन भेटिने सिलसिला जारी भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । सुरुमा कानपुरबाट १७७ करोड भारु नगद भेटियो र अहिले उनको कन्नौजस्थित घरमा पनि खजाना भेटिएको छ । यहाँ आइतबार तेस्रो दिनपनि जैनको घर र कारखानामा सेन्ट्रल गुड्स एण्ड सर्भिस ट्याक्स (सिजिएसटी) र आइटीको अनुसन्धान जारी छ । शनिबार अबेर राती उनको घरमा एउटा गोदाम पनि भेटियो ।
यसमा २५० किलो चाँदी र २५ किलो सुनले भरिएका बोरा भेटिए । चाँदीको मूल्य करिब पौने दुई करोड भारु र सुनको मूल्य करिब १२ करोड भारु बताइएको छ । साथै, उक्त समूहले १०७ करोड नगद पनि पाएको छ । हालसम्म जम्माजम्मी २८४ करोड भारु भेटिइसकेको छ । प्रहरीले व्यापारीका दुई छोरा प्रत्युष जैन र प्रियांश जैनका साथै अन्य कारखानाको अनुसन्धानमा जुटेको छ ।
स्रोतले दिएको जानकारी अनुसार गोदाममा नोटले भरिएका ९ बोरा पनि भेटिएका छन् । यसमा धेरैजसो नोट दुई हजारका हुन् । बाँकी ५ सय भारुका नोट छन् । अहिले नै यो गन्न सकिने अवस्थामा छैन । नोट गन्नका लागि कानपुरबाट ७ वटा मेसिन मगाइएको छ । यसका साथै बैंक अधिकारीलाई पनि बोलाइएको छ । यद्यपि, यो ५० करोडको नगद भएको अनुमान छ । एउटा झोलामा साँचो मात्रै भेटिएका छन् । कानपुरपछि कन्नौजमा जैनको घरबाट भेटिएको नगद र गहना देखेर अधिकारी दंग छन् ।
लखनऊबाट बोलाइए आर्किटेक्ट
आइटीको समूहले हालसम्म जैनको कन्नौजमा तीनवटा घर र कारखानाबारे पत्ता लगाएको छ । समूहले चारैतिर अनुसन्धान थालेको छ । घरका भित्तामा यति गोप्य लकर र दराज बनाइएका छन् कि यसबारे पत्ता लगाउन अधिकारीका लागि मुश्किल छ । यसैकारण आइतबार बिहान लखनऊबाट आर्किटेक्ट इन्जिनियरको समूहलाई बोलाइएको छ । करोडौं भारु र सुन भेटिएको जानकारी पाएपछि त्यहाँ थानाका थुप्रै फोर्स पनि लगाइएको छ ।
अत्तर कारोबारी पियूष जैन । फाइल तस्बिर
फिंगर प्रिन्ट भएका लकर, अबेर राती जैनलाई कन्नौज लिएर गयो टिम
कन्नौजमा छापामारीका बेला टिमले घरमा फिंगर प्रिन्ट भएका थुप्रै लकर भेटे । यी लकर यति बलिया थिए कि त्यसलाई फुटाउन पनि अत्यधिक मिहिनेत गर्नुपर्यो । यस्तोमा शनिबार अबेर राती टिम पियूष जैनलाई लिएर कन्नौज पुगेको छ । अब पियूष जैन र उनका छोरा प्रत्युषको फिंगर प्रिन्टबाट मात्रै यो लकर खोल्न सकिनेछ ।
पियूषलाई गोप्य स्थानमा राखेर सोधपुछ गरिँदैछ । रकम र गहनाका साथै कानपुरदेखि कन्नौज, लखनऊ, गुजरातसमेत विभिन्न स्थानमा करोडौंको सम्पत्ति भएको दस्तावेज भेटिएका छन् । छापामारीको क्रममा भेटिएका यी दस्तावेज जफत गरिएको छ । यसका साथै एक–एक सम्पत्तिबारे अनुसन्धान गरिँदै छ ।
हालसम्मको यो सबैभन्दा ठूलो कारवाहीः
स्मरण रहोस्, कानपुरमा भेटिएको १७७ करोड र कन्नौजबाट जुन तरिकाले लगातार पैसा र सुनचाँदी बरामद भइरहेको छ, त्यसबाट स्पष्ट हुन्छ कि पियूष जैनबाट कूल २५० करोड भारुभन्दा पनि बढीको रकम बरामद हुनसक्छ । यो देशमा डायरेक्टर जनरल अफ जिएसटी इन्टेलिजेन्स (डिजीजीआई) को तर्फबाट गरिएको हालसम्मको सबैभन्दा ठूलो कारवाही हो ।
यो फोटो कानपुरमा व्यवसायी पियूषको घरको नोटको गन्तीको हो । यहाँ १७७ करोड भारु भेटिएको थियो ।
३० भन्दा बढी अधिकारी तैनाथः
कन्नौजमा कारवाही गर्नका लागि करिब ३० अधिकारी तैनाथ गरिएको छ । ‘रेड’ फिल्मको जस्तै भित्ता भित्तामा अनुसन्धान गरिँदैछ । जताततैबाट पैसै पैसा भेटिएको छ । यहाँ पनि घरमा सुरक्षाको पूरा प्रबन्ध मिलाईको छ । फलामका निकै ठूला ढोका राखिएका छन् । प्रत्येक ढोकामा तीनवटा लक राखिएका छन् । थुप्रै ढोका खोल्न टिमलाई दुईघण्टा बढी समय लाग्यो । शनिबार अबेर रातीसम्म २० वटा ताल्चा काटिइसकेका छन् ।
व्यापार छोडेर भागे अत्तर व्यवसायीः
कन्नौजमा दुई अन्य अत्तर व्यवसायीमाथि भएको छापामारीपछि कन्नौजका यी अत्तर व्यवसायीमा कोकोहोलोको स्थिति छ । कन्नौजमा शनिबार बिहानदेखि नै धेरैजसो अत्तर कारखानाका ताल्चा खोलिएका छैनन् । थुप्रै अत्तर व्यवसायी आफ्ना चार्टर्ड अकाउन्टेन्टमार्फत् आफ्ना सबै कागजपत्रलाई बलियो बनाउन जुटेकमा छन् र कोही कन्नौज छोडेर भागेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)