राति २ बजे गोबर सोहोर्ने-गाई दुहुने , ९ बजे कुर्सी सम्हाल्ने उद्यमी वडाध्यक्ष
lokaantar.com

धनकुटाको हिले बजार बिहानको झुल्के घामसँगै ब्युँझन्छ होला, तर धनकुटा नगरपालिका-२ का वडाध्यक्ष चन्द्रलाल तामाङको दिन त त्योभन्दा धेरै अघि शुरू भइसक्छ ।
जब सारा दुनियाँ मीठो निद्रामा हराइरहेका हुन्छन्, चन्द्रलालको हातमा टर्च र बाल्टिन हुन्छ । उनी पदले वडा अध्यक्ष हुन्, तर कर्मले एउटा इमानदार कृषक । राति २ बजे नै ब्युँझिने बानी उनको बाध्यताको उपज होइन, यो त उनको परिचय, अनुशासन र सफलताको बलियो जग हो ।
धेरैका लागि राजनीति र सरकारी पद भनेको चैन र आरामको पर्याय हुन सक्छ, तर चन्द्रलालका लागि पदले उत्तरदायित्त्व मात्र थपेको छैन, उनलाई आफ्नो श्रमप्रति झन् बढी जिम्मेवार बनाएको छ ।
गोठबाट शुरू हुने उनको दैनिक यात्रा वडा कार्यालयको कुर्सीसम्म पुग्दा उनले धेरै किलोमिटरको दूरी मात्र होइन, धेरैखाले भूमिका पनि तय गरिसकेका हुन्छन् । राति २ बजे उठेर २४–२५ वटा गाईको सुसार गर्नु, गोबर सोहोर्नु, घाँसपानी गर्नु र दूध दुहुनु उनको दैनिकी हो ।
चिसो र अँध्यारो रातमा शुरू हुने यो कृषि कर्मले नै उनलाई जनताको वास्तविक दु:खसँग जोडेको छ । उनी भन्छन्, ‘यदि म राति दुई–अढाई बजे उठिनँ भने त न गोठको काम सकिन्छ, न त जनताको सेवा गर्न भ्याइन्छ ।’
उनको यो स्फूर्ति र जाँगर देख्दा जोकोही अचम्ममा पर्छन् । वडा अध्यक्षको जिम्मेवार पदमा बसेको मान्छेले बिहानको समय पूर्ण रूपमा आफ्नो कृषि कर्ममा बिताउनु र ९ बजे ठिक्क कार्यालय पुग्नु आफैंमा समयको कुशल व्यवस्थापनको नमूना हो ।
चन्द्रलालको यो कृषि यात्रा आजको मात्र होइन, उनी ४० वर्षदेखि यो माटोसँग पौँठेजोरी खेलिरहेका छन् । कुनै समय उनी धनकुटाका ‘अलैँची राजा’ थिए । ५० रोपनीमा लगाएको अलैँचीले उनलाई लाखौंको आम्दानी दिएको थियो ।
१ लाख १५ हजारदेखि १ लाख २० हजार रूपैयाँसम्ममा प्रतिमन अलैँची बेचेको त्यो गौरवमय इतिहास अहिले उनको स्मृतिमा मात्र सीमित छ । किनकि, रोगले उनको सबै अलैँची खेती सखाप पारिदियो । धेरै मानिस यस्तो ठूलो आर्थिक क्षति र विलापमा थलिन सक्थे, तर चन्द्रलालले हरेस खाएनन् । उनले २०७४ सालदेखि गाई पालनलाई आफ्नो नयाँ सपनाको रूपमा अगाडि बढाए । हार नमान्ने र निरन्तर श्रम गर्ने उनको स्वभावले नै उनलाई आज यो स्थानमा पुर्याएको हो । अलैँचीको बोट सुके पनि उनको आत्मविश्वास र जाँगर भने कहिल्यै सुकेन ।
अहिले उनको गोठमा भएका गाईहरूले दैनिक १८० लिटरसम्म दूध दिन्छन् । यो दूध केवल डेरीमा पुर्याएर मात्र उनी चित्त बुझाउँदैनन् । उनी आफैंमा एउटा सफल उद्यमी हुन् । उनले आफ्नै र वरपरका अन्य किसानको गरी दैनिक करिब ४०० देखि ५०० लिटर दूधबाट छुर्पी बनाउने उद्योग चलाएका छन् ।
त्यो छुर्पी धनकुटाको हिले बजार हुँदै सिधै काठमाडौंका ठूला पसलसम्म पुग्छ । वार्षिक दूधबाट मात्रै करिब ४० लाखको कारोबार गर्ने चन्द्रलालले सबै खर्च कटाएर महिनाको १ लाख रूपैयाँ बचत गर्छन् । यसबाहेक १० रोपनीमा लगाएको गाँजर र काउली खेतीबाट हुने १०–१२ लाखको अतिरिक्त आम्दानी त छँदैछ । यो सबै सफलताको एउटै मन्त्र हो- राति २ बजेको त्यो जागरण र आफ्नो कामप्रतिको अगाध प्रेम ।
राजनीतिमा उनी नेकपा एमालेका पुराना र निष्ठावान कार्यकर्ता हुन्, तर उनको कार्यशैली भने कुनै पनि दलगत घेराभन्दा माथि छ । उनी वडा कार्यालयमा जाँदा सबैका साझा अध्यक्ष हुने भने बारीमा जाँदा एउटा सामान्य किसान ।
उनले लगातार दुई पटक वडा अध्यक्ष जितेका छन् । उनले वडाका नागरिकलाई कहिल्यै अल्छी बनाउने खालका योजना ल्याएनन् । सित्तैमा पैसा बाँड्ने र मानिसलाई परजीवी बनाउने अनुदान प्रणालीको उनी कडा विरोध गर्छन् । बरु किसानलाई प्रविधि, सीप र मेसिनरी सामान दिएर सक्षम बनाउनुपर्छ भन्ने उनको दृढ अठोट छ ।
वडाबाट उनले च्याफ कटर र हाते ट्रयाक्टर जस्ता सामग्री वितरण गरेर कृषिमा आधुनिकीकरणको प्रयास गरेका छन् । ‘अनुदानले मान्छेलाई अल्छी र आशामुखी बनाउँछ, तर प्रविधिले उद्यमी र स्वाभिमानी,’ उनी भन्छन् ।
चन्द्रलालका एक छोरा विदेशमा छन् । एउटा छोरा प्रदीप जापानमा काम गरिरहेका छन् भने अर्को छोरा सिद्धान्त पनि जापानकै तयारीमा छन् । तर, चन्द्रलाललाई भने आफ्नै माटोमा पसिना बगाउन पाउनुमा नै सबैभन्दा ठूलो सन्तुष्टि मिल्छ ।
उनलाई कहिल्यै विदेश जाने वा शहर पसेर आराम गर्ने इच्छा जागेन । घरमा छोरी नीताले उनलाई कृषि कर्ममा सहयोग गरिरहेकी छन् । वडा अध्यक्षको कामले कतै जानुपर्दा उनले पहिले नै फोन गरेर घरको काम व्यवस्थापन गर्छन् । राति २ बजे नब्युँझिएका भए सायद उनी एउटा सफल किसान र सफल राजनीतिज्ञको रूपमा यसरी स्थापित हुने थिएनन् । राजनीति र पसिनालाई सँगसँगै लैजान सकिन्छ भन्ने कुराको चन्द्रलाल एउटा बलियो र अनुकरणीय उदाहरण हुन् ।
उनको जीवन कथाले आजको युवा पुस्तालाई एउटा ठूलो पाठ सिकाएको छ । सानो दु:खमा पनि अत्तालिने र विदेशलाई मात्र विकल्प देख्ने युवाहरूका लागि उनी एउटा जिउँदो पाठशाला हुन् । ५० रोपनी अलैँची सखाप हुँदा नरोएका चन्द्रलाल आज गाईको गोठ र तरकारीको बारीमा रमाउँदै गर्दा एउटै सन्देश दिन्छन्– ‘मेहनत गर्ने हो भने यो माटोले कहिल्यै भोकै राख्दैन ।’
उनको यो पौरखले अल्छीपनलाई चुनौती दिइरहेको छ । पद पाएपछि काम गर्नुपर्दैन, केवल आदेश दिए पुग्छ भन्ने सोच पालेका जनप्रतिनिधिहरूका लागि चन्द्रलालको राति २ बजेको दैनिकी एउटा गतिलो ऐना पनि हो । चन्द्रलाल तामाङको यो यात्रा पद, पैसा वा प्रतिष्ठाका लागि मात्र होइन; यो त श्रमको सम्मान, उत्पादनको क्रान्ति र आत्मनिर्भरताको बाटो हो ।
उनको पसिनाको सुगन्ध र उनले उत्पादन गरेको छुर्पीको स्वादले अबका पुस्तालाई पक्कै पनि आफ्नै माटोमा श्रम गर्न र उत्पादनसँग जोडिन प्रेरित गरिरहनेछ ।
अहिले गाउँमा बाँदरले दु:ख दिइरहेको वडाध्यक्ष तामाङ बताउँछन् । गाँजर खेती गर्दा बाँदरले धेरै दु:ख दिने गरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
काठमाडौँ