मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानका परमाणु केन्द्रसम्म पुग्न नसकेकामा आईएईएले व्यक्त गर्‍यो गम्भीर चिन्ता

baahrakhari.com · Fri Jun 05 03:56:19 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को परमाणु निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले इरानको परमाणु कार्यक्रमका विषयमा गम्भीर चिन्ता व्यक्त गरेको छ । सदस्य राष्ट्रहरूबीच प्रसारित एक गोप्य प्रतिवेदनमा एजेन्सीले युद्धबाट प्रभावित इरानी परमाणु प्रतिष्ठानहरूको निरीक्षण गर्न अहिलेसम्म सफल नभएको जनाएको छ ।

आईएईएका अनुसार, इरानसँग रहेको सम्वर्धित युरेनियमको वर्तमान भण्डार कति छ, त्यसको अवस्था कस्तो छ र कहाँ राखिएको छ भन्नेबारे कुनै स्पष्ट जानकारी छैन । इरानले युरेनियम सम्वर्धनसँग सम्बन्धित सम्पूर्ण गतिविधि रोकेको छ वा छैन भन्ने पनि पुष्टि गर्न नसकिएको एजेन्सीले जनाएको छ ।

प्रतिवेदनमा भनिएको छ कि परमाणु अप्रसार सन्धिअन्तर्गतको सुरक्षा निगरानीसम्बन्धी आफ्नो जिम्मेवारी पूरा गर्न एजेन्सी हाल सक्षम छैन । आईएईएले इरानले सन्धिअन्तर्गतका आफ्ना दायित्व तत्काल र पूर्ण रूपमा कार्यान्वयन गर्नु अत्यन्त आवश्यक रहेकामा जोड दिएको छ ।

गत फेब्रुअरीमा सार्वजनिक गरिएको अघिल्लो प्रतिवेदनयता आईएईएका निरीक्षकहरूले इरानमा केवल बुशेहर परमाणु ऊर्जा केन्द्रको मात्र भ्रमण गरेका छन् ।

बुशेहरमा सञ्चालित रिएक्टरले रुसबाट प्राप्त ४.५ प्रतिशत सम्वर्धित युरेनियम प्रयोग गर्छ । त्यसलाई विद्युत् उत्पादनका निम्ति आवश्यक न्यून स्तरको सम्वर्धन मानिन्छ ।

यो प्रतिवेदन पश्चिम एसियामा तनाव निरन्तर बढिरहेका बेला सार्वजनिक भएको हो ।

आईएईएका अनुसार, इरानसँग हाल ६० प्रतिशतसम्म सम्वर्धित ४४०.९ किलोग्राम युरेनियम मौज्दात छ । यो स्तर हतियार निर्माणका निम्ति आवश्यक ९० प्रतिशत सम्वर्धनको तहभन्दा प्राविधिक रूपमा धेरै टाढा छैन ।

आईएईएका महानिर्देशक राफेल ग्रोसीले हालै एक अन्तर्वार्तामा चेतावनी दिँदै भनेका थिए कि यदि इरानले आफ्नो परमाणु कार्यक्रमलाई हतियार निर्माणतर्फ मोड्ने निर्णय गरे यो भण्डार सैद्धान्तिक रूपमा करिब १० परमाणु बम बनाउन पर्याप्त हुनसक्छ ।

यद्यपि, उनले यसको अर्थ इरानसँग अहिले नै प्रयोगका निम्ति तयार परमाणु हतियार रहेको भन्ने नभएको स्पष्ट पारेका छन् ।

#इरान

#संयुक्त राष्ट्रसंघ

#आईएईए

#परमाणु केन्द्र

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय