पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट थाल्यो सुझाव संकलन
lokaantar.com

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत् प्रदेशस्तरबाट सुझाव संकलन शुरू गरेको छ ।
गत फागुन २१ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कार्यदल गठन गरिएको हो ।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार कार्यदलले शनिबार बागमती प्रदेश संगठन कमिटीको समन्वयमा काठमाडौंबाट सुझाव संकलन अभियान शुरू गरेको हो ।
बागमती प्रदेश संगठन कमिटीको बैठक शुक्रबारदेखि शुरू भएको र बैठकपछि सुझाव संकलनका लागि भेला आयोजना गरिएको उनले जानकारी दिए ।
गत जेठ १० गते सम्पन्न एमाले सचिवालयको आठौं बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो ।
जेठ २६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यदलको पहिलो बैठकले प्रदेशस्तरमा सुझाव संकलन गर्ने कार्यतालिका निर्धारण गरेको थियो ।
कार्यतालिका अनुसार असार २ गते कोशी प्रदेश, असार ४ गते लुम्बिनी प्रदेश, असार ६ गते सुदूरपश्चिम प्रदेश, असार ८ गते कर्णाली प्रदेश, असार ११ गते गण्डकी प्रदेश, असार १३ गते मधेश प्रदेश तथा असार १६ गते राजधानी विशेष प्रदेश र असार १७ गते सम्पर्क समन्वय विशेष प्रदेशमा सुझाव संकलन गरिनेछ ।
प्रदेशस्तरीय भेलामा सम्बन्धित भौगोलिक क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका पदाधिकारी सहभागी हुनेछन् ।
कार्यदलले असार १८ गते जनसंगठन तथा असार १९ गते केन्द्रीय विभाग प्रमुख र विभिन्न निकायका पदाधिकारीसँग पनि सुझाव संकलन गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)