अख्तियार प्रमुख र एपिजी प्रतिनिधिमण्डलबिच भेट, अब ग्रे लिष्टबाट नेपाल बाहिरिन सक्छ ?
arthadabali.com · Wed May 20 13:22:18 GMT 2026

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई र एशिया प्यासिफिक ग्रुप अन मनि लाउण्डरिङ (एपिजी) का प्रतिनिधिमण्डलबिच आयोगको टंगालस्थित कार्यालयमा शिष्टाचार भेटघाट तथा छलफल सम्पन्न भएको छ।
जेठ ५ गते भएको उक्त कार्यक्रममा एपिजीका डेलिगेसन प्रमुख डेविड सानन तथा पारस्परिक मूल्याङ्कन संयोजक किया सासली सहभागी थिए।
छलफलका क्रममा डेलिगेसन प्रमुख डेविड साननले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिष्ट’ बाट बाहिर ल्याउन अन्तर्राष्ट्रिय समन्वय समीक्षा समूहले तय गरेको कार्ययोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। उनले राष्ट्रिय जोखिम मूल्याङ्कन शीघ्र सम्पन्न गर्नुपर्ने तथा उच्च जोखिम भएका क्षेत्रमा सुधार केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए।
साननले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानमा अख्तियारले खेलेको भूमिकाको प्रशंसा गर्दै आयोगको अनुसन्धान क्षमता थप सुदृढ बनाउन आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सकिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
त्यस अवसरमा प्रमुख आयुक्त राईले नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन एपिजीले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धान तथा अभियोजनमा आयोगले गरेका नीतिगत र कानुनी सुधार, अनुसन्धान तथा अभियोजनको गुणात्मक वृद्धि, क्षमता विकास र अन्तरनिकाय समन्वयका विषयमा जानकारी गराएका थिए।
प्रमुख आयुक्त राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कर्मचारी स्थायित्वसहितको छुट्टै विशिष्टिकृत महाशाखा आवश्यक रहेको धारणा राख्दै उच्च जोखिम भएका क्षेत्रको नियमन, सुपरीवेक्षण र कानुन कार्यान्वयनमा सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने बताएका थिए।
भ्रष्टाचार तथा वित्तीय अपराधसँग जोडिएका सम्पत्ति फिर्ता ल्याउन र अनुसन्धानमा आवश्यक प्रमाण संकलनका लागि विभिन्न मुलुकसँग आपसी कानुनी सहायता सम्झौता आवश्यक रहेको पनि उनले उल्लेख गरे। साथै, ग्रे लिष्टबाट सफलतापूर्वक बाहिरिएका मुलुकहरूको अनुभव र सिकाइ नेपालसँग आदानप्रदान गरिदिन एपिजीसँग आग्रह गरेका थिए।
कार्यक्रमको अन्त्यमा प्रमुख आयुक्त राईले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धान तथा अभियोजनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन सम्बन्धित सबै निकायले इमान्दार र परिणाममुखी ढंगले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका थिए।
सम्बन्धित विषय:
# अख्तियार
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)