नेपाल प्रहरी र लक्ष्मी बैंकबीच छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने सम्झौता
kalakarmi.com · Mon Apr 24 09:37:45 GMT 2023
काठमाडौं– नेपाल प्रहरी र लक्ष्मी बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना तथा सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले समझदारीपत्र आदानप्रदान गरे ।
उक्त समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट प्रहरी नायव महानिरीक्षक केदार ढकाल र लक्ष्मी बैंकको तर्फबाट बैंकका प्रमुख रिटेल फाईनान्स सर्भिस दिपेश अमात्यले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सम्झौताको लागि लक्ष्मी बैंकलाई धन्यवाद दिँदै यस सम्झौताले प्रहरी कर्मचारीहरूको मनोबल उच्च गर्ने, कार्य सम्पादनमा सकारात्मक सुधार ल्याउनुका साथै प्रहरी प्रवाह गर्ने सेवामा गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले नेपाल प्रहरीले देश तथा समाजको शान्ति सुरक्षामा गरेको योगदानको प्रशंसा गर्दै बैंकको सामाजिक उत्तर दायित्वअन्तर्गत देशका विभिन्न क्षेत्रमा समेत सहयोग गर्दै आएको बताए ।
सम्झौता अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले तोकिएको नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, पूर्व एवम् अवकाश प्राप्त, अमर÷शहीद एवम् अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका प्रहरी कर्माचारीका सन्ततीहरू मध्ये उत्कृष्ट अंक प्राप्त गर्ने कम्तीमा दुई जना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ ।
छात्रवृत्ति प्रदान गर्नका लागि लक्ष्मी बैंकले प्रहरी कल्याण कोषको नाममा
‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षयकोष’ को स्थापनावापत एकमुष्ठ नभई प्रत्येक वर्ष ५ लाख रूपैयाँका दरले कोषमा जम्मा २५ लाख रूपैयाँ उपलब्ध गराउने छ । र उक्त खाता संचालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ ।
शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौता अनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई बृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षयकोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहममिमा समस्या समाधान गरिने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)