मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

न्यायका लागि जलवायु कूटनीति

gorkhapatraonline.com · Fri Aug 28 03:21:54 GMT 2026

जलवायुविज्ञहरूले भनेका थिए– पृथ्वी जति तातिनुपथ्र्यो, त्यो तातिइसक्यो; अब उम्लिन मात्रै बाँकी छ । यसपालिको यो याम अहिले त्यस्तै भएको छ । अर्थात् पृथ्वी उम्लिए जस्तो । अत्यधिक तातो । धेरैले जीवनमा पहिलो पटक यति धेरै तातो महसुस गरिरहेका होलान् । नेपाल, भारतलगायत दक्षिण एसिया मात्रै होइन, यो तातो हावाले अहिले त युरोपका कतिपय सहर र जापानसहितका देशमा उल्का गर्मी छर्किरहेको छ । त्यसले त्यहाँका मानिसमा स्वास्थ्य समस्याहरू मात्रै नभई अन्य राष्ट्रिय समस्या पनि निम्त्याइरहेको छ । यद्यपि यसपालि पृथ्वीमा औसतभन्दा धेरै गर्मी हुन्छ भनेर पूर्वचेतावनीसमेत दिइएकै थियो । त्यसको एउटा कारणमध्ये ‘अल निनो’ हो भनिएको छ । वैज्ञानिकहरूका अनुसार यो भनेको समुद्रको एक सतहको पानी अत्यधिक तातो हुने मौसमको एक चरण वा प्रवृत्ति हो; जसले गर्दा खास गरी प्रशान्त महासागरको मध्य भाग अत्यधिक तातो हुन्छ । त्यही प्रवृत्ति सक्रिय भएका बेला संसारभरिकै वर्षा अनि मौसम नै प्रभावित हुन्छ । त्यसको एउटा प्रत्यक्ष अनुभव हुने प्रभाव भनेको तातोपना नै हो; जो अहिले हामीले अनुभव गरिरहेका छौँ । ‘अल निनो’ भनेको ‘अल निनो–साउदर्न अस्सिलेसन’ भन्ने प्रक्रियाको एक अंश हो । यसको विपरीत तापमान घट्ने चिसो चरणलाई ‘ला निना’ भनिन्छ । ‘अल निनो’ सधैँ हुने वा नियमित हुने प्रक्रिया होइन तर सरदरमा प्रत्येक दुईदेखि सात वर्षको बिचमा एक पटक हुने गरेको पाइन्छ ।

पृथ्वीमा यो दिनदशा सुरु भइरहँदा आगामी केही दिनमै विश्वस्तरीय एउटा सम्मेलन सुरु हुँदै छ; जहाँ विश्वका सबै जसो शक्तिशाली नेताहरू जुटेर जलवायु परिवर्तन र त्यसको असर अनि प्रभावलाई कसरी कम गर्ने ? भनेर छलफलमा जुट्ने छन् । यद्यपि ९० को दशकदेखि नै यो सम्मेलन हरेक वर्ष हुँदै आएको छ । यसका कारण अहिलेसम्म पृथ्वीको तापमानलाई एउटा निश्चित विन्दु (१.५ डिग्री) भन्दा माथि हुन नदिने भन्नेमा लगभग पूरै विश्व एकमत जस्तै छ । बाँकी कैयौँ विवाद र सहमति यो सम्मेलनको सौन्दर्य पनि हो । त्यही सम्मेलन जो हालका दिनमा ‘कोप–सम्मेलन’ को नाममा चिनिन्छ । यो भनेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको महासन्धिको पक्ष राष्ट्रहरूको सम्मेलन हो । सन् १९९२ मा पहिलो पटक अनुमोदन गरिएको सो सम्मेलन त्यसपछिका हरेक वर्ष निरन्तर छ; जसमा विश्वका १९८ राष्ट्रले जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी सहकार्यमा हातेमालो गर्दै आएका छन् । जलवायु पक्ष राष्ट्रहरूको सम्मेलन (सिओपी) मा मुलुकका प्रतिनिधिहरूले विश्वको तापमान वृद्धि गराउने हरितगृह ग्यास उत्सर्जनलाई कसरी घटाउने, जलवायु परिवर्तनमा कसरी अनुकूलन गर्ने र विकासशील देशलाई खनिज इन्धन कम गर्न कसरी आर्थिक सहयोग गर्ने र जलवायु परिवर्तनका असरबाट बच्न कसरी अनुकूलनका उपाय अपनाउने भन्ने जस्ता विभिन्न मुद्दामाथि छलफल गर्छन् । यसपालिको ‘कोप–३१’ टर्कीको एउटा ऐतिहासिक र रमणीय सहर अन्ताल्यामा आयोजना हुँदै छ । टरस पर्वतमाला अनि भूमध्य सागरको बिचमा बसेको यो सहर आफैँमा प्राकृतिक छटाहरूले भरिएको सहर हो । यसलाई क्यानभास बनाएको पृष्ठभूमिमा अग्ला अनि सुन्दर र रमणीय चट्टानी पहाडका टाकुराहरू हाँसिरहेका हुन्छन् भने त्यसको छाया अगाडिको कञ्चन निलो महासागरमा डुबुल्की मारिरहेको हुन्छ । यही सहरको मुटुमा जुटेर यसपालि पनि विश्वका शक्तिशाली, धनी र गरिब राष्ट्रका नेताहरूले यसको प्रभावसँग जुध्ने उपायबारे विमर्श गर्ने छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)