मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चर्चामा चुलिएका सदाबहार विषय

rajdhanidaily.com · Wed Dec 01 23:26:42 GMT 2021

लोकतन्त्र राजनीतिक व्यवस्थाको उत्कृष्ट अभ्यास हो । विश्वजगत्का केही मुलुक छाडेर अधिकांश विकसित देशमा लोकतन्त्रको अभ्यास रहेको पाइन्छ । नेपालमा राणाकाल, पञ्चायती व्यवस्था अथवा निरंकुश राजनीतिक व्यवस्थाबाट देशको विकास भएन भनेर हाम्रा अगुवाले प्रजातन्त्रका लागि जेलनेल सहे । संघर्ष गरे । राजनीतिक व्यवस्था बदल्न जनतालाई सडकमा उतारे । उनीहरूको त्याग र बलिदानको कदर गर्दै नेपाली समाजले उनीहरूको आह्वानलाई समर्थन गरे । सडकमा ओर्लिए । युद्घमा होमिए । २००७, २०४६ र २०६२÷६३ सालमा देश आन्दोलनलगायतका जनआन्दोलनमा जनता राजनीतिक दलहरूसँगै हिँडे । यति मात्र होइन । २०५२ सालदेखि २०६२ सम्म माओवादीले भूमिगत युद्ध गर्दा पनि जनताले उनीहरूलाई साथ दिए । यी सबै आन्दोलन र युद्घहरू देश विकास र सुशासनका लागि भएका थिए । तर, त्यसो हुन सकेन । नेतृत्वले गर्न सकेन । त्यसैले समाजमा राजनीतिक विकासक्रम र नेपाली जनताको बलिदानको निराशजन्य चर्चा हुने गर्छ ।

लोकतन्त्रका लागि संघर्ष गर्ने हाम्रा अग्रज नेतागणलाई समाजले सम्मान दिएको छ । राजनीतिक दललाई पालैपालो सत्तारोहण गर्न मतदान दिएर सत्ताको बागडोरमा पु¥याउने अवसर दिएको छ । परन्तु जुन जोगी आए पनि कानै चिरेका भनेझैं व्यवस्था बदल्न संघर्ष गरेका राजनीतिक दलले देश विकास र सुशासन दिन सकेनन् । हाम्रा नेताहरू दूरदर्शी भएनन्, भ्रष्ट भए । उनीहरूमा भिजन, मिसन र एक्सन भएन । लोभ, लालच र षडयन्त्रमा लागे । आफ्नै राजनीतिक दलसमेत चलाउन सकेनन् । गुट, फुट र उपगुटमा रमाए । देशलाई खर्चिलो राजनीतिक र प्रशासनिक एकाइहरूमा विकेन्द्रीकरण गरियो । गाउँगाउँमा सिंहदरबार भनियो । परन्तु, यी निकायले प्रभावकारी रूपमा विकास निर्माणका काम गर्न सकेका छैनन् । बरु सिंहदरबारभित्र हुने भ्रष्टाचार अनियमितता स्थानीय तहसम्म फैलियो । अहिले जताततै भ्रष्टाचार नै भ्रष्टचार छ । कुशासन छ । यो स्थिति देख्दा आमजनतामा अहिलेको पुस्ताको नेतृत्वबाट देश विकास र सुशासन हुनै सक्दैन भन्ने बहस हुन थालेको छ । चर्चा परिचर्चा हुने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)