रोकिएन डढेलो
gorkhapatraonline.com · Fri Jun 05 04:18:48 GMT 2026

वनडढेलो नियन्त्रणका लागि जिल्लाभर विभिन्न सचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गरेको भए पनि आगलागी हुने क्रम रोकिएको छैन ।
डिभिजन वन कार्यालय दैलेखले दिएको जानकारी अनुसार दैलेखका १४ वटा सामुदायिक वन र ४० वटा राष्ट्रिय वनमा निरन्तर आगलागी हुँदा एक हजार १७० हेक्टर वनक्षेत्र डढेलोले नष्ट भएको छ ।
डिभिजन वन कार्यालयका वन अधिकृत आशिका पौड्यालले डढेलो नियन्त्रणका लागि ११ स्थानीय तह र सामुदायिक वन उपभोक्ता समितिलक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको भए पनि वनमा डढेलो लाग्ने क्रम नरोकिएको बताउनुभयो ।
वन कार्यालयका अनुसार तीमध्ये ११ वटा सामुदायिक वनमा भएको आगलागीलाई भने समयमै नियन्त्रणमा लिइएकाले क्षति धेरै हुन पाएन । वन अधिकृत पौड्यालले डिभिजन वन कार्यालय र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई आगलागी हुन नदिन र आगलागी भएको अवस्थामा नियन्त्रण गर्ने उपायबारे प्रशिक्षण तथा अभिमुखीकरण समेत गरिएको जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय दैलेखका कार्यालय प्रमुख अमर शाहले वनक्षेत्रमा हुने अधिकांश आगलागी मानवीय लापर्बाहीका कारण हुने गरेको बताउनुभयो । उहाँले घाँसपात सङ्कलन, खेतबारी सफा गर्ने क्रममा लगाइने आगो नियन्त्रणबाहिर जाँदा डढेलो फैलिने गरेको बताउनुभयो । लामो समय वर्षा नहुनु र सुक्खा मौसमले समेत आगलागीको जोखिम बढाएको छ । जिल्लाभित्र यात्रा गर्नेहरूले चुरोट खाने र त्यसलाई ननिभाउने गरेका कारण पनि वनमा आगलागी हुने गरेको छ । वनडढेलो न्यूनीकरणका लागि सचेतनासँगै आवश्यक निगरानी, नियन्त्रण र कानुनी कार्यान्वयनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको स्थानीयले बताएका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)