मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

टीकापुरको ६ सय कठ्ठा सार्वजनिक जग्गा व्यक्तिका नाममा

annapurnapost.com · Fri Feb 09 01:11:45 GMT 2024

काठमाडौं : कैलालीको टीकापुरको सार्वजनिक जग्गा व्यक्तिका नाम कायम गरिएको ठूलो तथ्य बाहिर आएको छ। तत्कालीन टीकापुर नगर विकास समितिका पदाधिकारीसहित मालपोतका कर्मचारीको मिलोमतोमा बजार क्षेत्रको अर्बौं मूल्य पर्ने ६ सय कठ्ठाभन्दा बढी सार्वजनिक जग्गा व्यक्तिका नाम कायम गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नक्कली कागजात खडा गरी बजार क्षेत्रकै सार्वजनिक जग्गा व्यक्तिका नाममा हक हस्तान्तरण गरेको आरोपमा अख्तियारले टीकापुर नगरविकास समितिका पदाधिकारी, कर्मचारी र जग्गाधनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव नरहरि घिमिरेले जानकारी दिए। अख्तियारको अनुसन्धानमा टीकापुर नगरपालिका–१ को टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षलगायतका पदाधिकारीको मिलेमतोमा नक्कली रसिद बनाएर समितिका पदाधिकारी एवं कर्मचारीहरूको संलग्नतामा उनीहरूकै आफन्तलगायतको नाममा जग्गा हस्तान्तरण गरेको पाइएको छ। सार्वजनिक व्यक्तिका नाममा ल्याउन समितिमा कम रकम बुझाएर हक हस्तान्तरण गरेको देखिएको अख्तियारले जनाएको छ। यो प्रकरणमा नगर विकास समितिका तीन अध्यक्षसहित १४ जना टीकापुर नगर विकास समितिका पदाधिकारी छन्। १ सय १० जना जग्गाधनीलाई प्रतिवादी बनाइएको छ। मुद्दा दायर भएकामध्ये सात जनाको मृत्यु भइसकेको छ। चार जनाले पाएको जग्गा आफ्नो नाममा नआउँदै प्लटिङ गरेर बेचेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। त्यो जग्गा उपभोग गरिरहेका थप १ सय ७ जनामाथि पनि अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)