युवतीलाई पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
nagariknews.nagariknetwork.com · Sat Jun 13 13:18:07 GMT 2026

झापाको बिर्तामोडमा एक २१ वर्षीया युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
बिर्तामोड नगरपालिका-२ स्थित चारपानेमा स्थानीय सबिना राजवंशीमाथि दुर्व्यवहार गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरूमा झापाको कनकाई नगरपालिका–८ बस्ने २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु, १८ वर्षीय समिर मर्डी र १९ वर्षीया पुजा बस्नेत रहेका छन्।
उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले पक्राउ गरेको हो।
गत मंगलबार साँझ करिब साढे ६ बजे बिर्तामोड–२ स्थित राजगढ़ जाने बाटोमा युवतीलाई कालो मोसो दलिएको सूचना प्रहरीले पाएको थियो। घटनास्थल पुगेको प्रहरी टोलीले २१ वर्षीया सबिना राजवंशीलाई पुरानो रिसिइबीका कारण बिजुलीको पोलमा हात बाँधेर कालो मोसो दलेको अवस्थामा फेला पारेको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय चौहानले पक्राउ परेकाहरूको साथबाट घटनामा प्रयोग गरिएको कालो मोबिलको बट्टा र विभिन्न किसिमका १६ थान पम्प्लेटसमेत बरामद गरिएको जानकारी दिए।
‘पुरानो रिसिइबीका कारण युवतीमाथि अमानवीय व्यवहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ सूचना अधिकारी चौहानले भने, ‘पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ।’
दुर्व्यवहारमा परेकी सबिना राजवंशीको हाल बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
नेपाल प्रहरी