साना उद्यम, ठूलो प्रेरणा
annapurnapost.com · Mon Mar 14 06:18:00 GMT 2022
विकास र समृद्धिका कुरा हुँदा ठूलाठूला पूर्वाधार, उद्योगधन्दा र कलकारखानाका कुरा आउँछन्। नेपालको समृद्धिको बहसमा छायामा परेको मुद्दा साना उद्योगधन्दाको हो। ठूला उद्योग धन्दा खुल्नु पर्छ। तर यो होइन कि ठूलै कलकारखानाबिना समृद्धि सम्भव छैन। ठूलामात्रै उद्योग धन्दा हुने र ससाना कुटिर उद्योग नचल्ने वातावरण भए सीमित व्यक्ति धनाढ्य उद्योगपति र धेरै चाहिँ मजदुर हुन्छन्। धनी र गरिबको खाडल बढ्छ। आर्थिक समानताका लागि त ठूला र निश्चित उद्योगधन्दा मात्रै पोसिने होइन, गाउँघरमै सासाना उद्योग व्यवसाय चल्ने वातावरण राज्यले बनाउनुपर्छ। प्राकृतिक स्रोतको उपयोग गरी गाउँघरमै इलम गर्न प्रोत्साहन गर्ने हो भने रोजगारी र स्वरोजगारी बढ्छ, नागरिकको आर्थिक हैसियत उकासिन्छ। पर्सा जिल्लाको पर्सागढी नगरपालिका–२ कटानीकी टुकुकुमारी कार्कीलाई नै हेरौं न। उनले वैदेशिक रोजगारीमा जान लागेका श्रीमान्लाई रोकिन्। गाउँकै वनजंगलका रूखका पात टिपेर टपरी गाँस्न थालिन्। टपरी गाँस्ने इलम विस्तार गर्दै उद्योगकै रूपमा स्थापित गरिन्। हातबाट होइन मेसिनबाट पनि काम गर्न थालिन्। अनि स्थापित भयो उनको दुनाटपरीको लघुउद्यम। मध्यमवर्गीय हैसियत बनाउन उद्यमशीलताको बाटोमा टुकुटुकु हिँडेरै सफल हुन सकिने उदाहरण हुन् टुकुकुमारी।
दुनाटपरी हाम्रो संस्कृति पनि हो। भोजभतेर र चाडपर्वमा दुनाटपरीमै खानेपिउने चलन हराइसकेको थियो, देशभरका टुकुकुमारीहरूको इलमबाट विस्तारै यो संस्कृतिले पुनर्जीवन पाउँदैछ। अर्का कुरा यो स्वास्थ्यसँग पनि जोडिन्छ। अचेल हामी सजिलो र सस्तोको लोभमा प्लास्टिक र फाइबरका भाँडाकुँडामा रमाइरहेका छौं। विज्ञहरूका अनुसार त्यस्ता भाँडाकुँडामा खानु क्यान्सर निम्त्याउनु हो। मधुमेहलाई स्वागत गर्नु हो। जिउमा पत्थरी जमाउनु हो। दुनाटपरी पनि त आखिर सजिला भाँडाकुँडा हुन्। सजिलो पनि उस्तै। त्यसमाथि झन् वातावरण मैत्री। मात्रै खाँचो के थियो भने बजारमा सजिलै पाइयोस् र हेर्दा पनि चिटिक्क होस्। टुकुकुमारीले जस्तै मेसिनबाट सिइएका दुनाटपरी लोभलाग्दै देखिन्छन्, चुहिनेखाले पनि हुन्नन्। यसको कच्चा पदार्थ आयात गर्नु पनि परेन। रुखका पात जब भुइँ झरेर माटो बन्थे, तिनैलाई बेलामा बटुलेर काम चलाउन सकिन्छ। पर्सामा टुकुकुमारीको उद्यम चल्दाको फाइदा साह्रै सुखद पो छ। वनजंगलबाट सुकेका पात टिप्न थालेपछि डँढेलो लाग्न छाडेको छ। धनजनको क्षति रोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)