डोको बुन्दै दृष्टिविहीन
ekantipur.com · Thu Jan 18 00:24:16 GMT 2024
काभ्रे — छेवैमा पाट्ने खोला सुसाइरहेको छ । नजिकैको पाट्ने भन्ज्याङ वनबाट झ्याँउकिरीको आवाज आइरहेको छ । यही माहोलमा दिनचर्यामा व्यस्त छन्, बेथानचोक–२ गेल्ढुंगाका ५६ वर्षीय रामकृष्ण वाइबाको दम्पती । रामकृष्णको एक हातमा हँसिया र अर्कोमा निगालो छ । निगालोको एक छेउलाई तासेर बिस्तारै चिर्छन् । अन्दाजका आधारमा निगालोका कप्टेरो बनाउँदै चोया निकाल्छन् ।
दायाँपट्टि कुनामा सेतो छडी छ, जसको सहारामा तीन दशकयता रामकृष्ण हिँडिरहेका छन् । दुवै आँखाको दृष्टि गुमाएका रामकृष्णलाई श्रीमती ईश्वरीले अन्य कामकाजमा सघाउँदै आएकी छन् । ‘श्रीमती र छडीको साथले नयाँ जीवन पाएको छु,’ उनले सुनाए । सबेरैदेखि बेलुकीसम्म वाइबा दम्पती डोको बुन्नमै व्यस्त हुन्छन् । रामकृष्ण दिनमा ३ वटासम्म डोको तयार गर्छन् । उनका अनुसार भुडे, ढुटे, तिते र सिँगाने गरी ४ जातका निगाला हुन्छन् । डोको बनाउन भुडे जातको निगालो उत्तम हुने उनले सुनाए । ‘नजिकै पाइँदैन, चार घण्टा हिँडेर पाट्ने भन्ज्याङ र ललितपुरको मृग बिसौने सामुदायिक वनमा गएर ल्याउनुपर्छ,’ उनले भने, ‘पहिले त आफैं खोजेर ल्याइन्थ्यो, अहिले मान्छे पठाउँछु ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)