केही नेपाल ऐन संशोधन विधेयक पेस
gorkhapatraonline.com · Mon Jun 26 06:09:13 GMT 2023
काठमाडौँ, असार ११ गते । सरकारले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेस गरेको छ । सङ्घीय संसद्को अधिवेशन चालु नरहेको अवस्थामा गत वैशाख २० गते सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको थियो । उक्त अध्यादेशले गरेको व्यवस्थालाई निरन्तरता दिन तथा अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक ल्याइएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयक राष्ट्रिय सभामा पेस गर्नुभएको हो । अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र घरसारमा हुने लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने विश्वाससहित उक्त विधेयक ल्याइएको छ । लेनदेनसम्बन्धी मुद्दामा साहुले अनुचित तवरले साँवाभन्दा कैयौँ गुणा बढी रुपियाँ असुली गरेको, अचल सम्पत्ति हस्तान्तरण गराएको जस्ता दाबी गर्दै ऋणीले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेपछि सरकारले अनुचित लेनदेनलाई व्यवस्थित बनाउने सहमति गरेको थियो । उक्त सहमतिबमोजिम तत्काल अध्यादेशसमेत जारी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)