मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टी प्रजातान्त्रीकरण हुन देऊ

rajdhanidaily.com · Thu Sep 28 23:43:58 GMT 2023

नेतृत्व चयनमा पार्टीका अध्यक्ष तथा शीर्ष नेताका सर्वसम्मतको आह्वान कार्यकर्ताहरूबाट अस्वीकृत हुनथालेसँगै कम्युनिस्ट पार्टीहरूमा प्रजातान्त्रीकरणको प्रश्न जबर्जस्त आइलागेको छ । संघीय संसद्मा प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशमा प्रदेश नेतृत्व सर्वसम्मत चयनका लागि दिएको निर्देशन कार्यकर्ताले अस्वीकृत गरेका छन् । सर्वसम्मत नेतृत्व चयन हुननसके प्यानल नबनाएर स्वच्छ रूपमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न अध्यक्ष ओलीले थप सुझाएका पनि थिए । तर, कार्यकर्ता प्रदेश नेतृत्वका लागि प्यानल बनाएरै चुनावी मैदानमा उत्रिए । यसलाई कसैले पार्टी अध्यक्ष ओलीको ‘निर्देशनको अवज्ञा’ त कसैले पार्टीभित्र ‘गुटबन्दीको संज्ञा’ दिएका छन् । तथापि, एमाले लुम्बिनी प्रदेश अधिवेशनमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका समर्थक कार्यकर्ता आआफ्ना प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिए । यसलाई सिद्धान्ततः एक पार्टी विशेष र अझ कम्युनिस्ट पार्टी विशेषको आचरण, पद्धति र चरित्रसँग जोडेर हेर्न र व्याख्या गर्न थालिएको छ । धारणा के छ भने कम्युनिस्ट पार्टी सर्वसत्तावादी हुन्छन्, सो पार्टीभित्र प्रजातन्त्र र प्रजान्त्रिक अभ्यासको कुनै गुञ्जायस हुँदैन ।

यस ‘आरोप’लाई कम्युनिस्ट पार्टीहरूले पनि सैद्धान्तिक र व्यावहारिक रूपमा न त गलत हो भन्न सकेका छन्, न त गलत हो भन्ने पुष्टि नै गर्न खोजेका छन् । बरू, कम्युनिस्ट पार्टीहरूमा सधैं सर्वसम्मत र नेतामुखी निर्णय कार्यान्वयन होस् भन्ने चाहना रहेको देखिन्छ । नेताको निर्देशन उल्लंघन गर्ने वा पार्टी ह्विप नमान्नेलाई सदाका लागि पाखा पनि लगाइन्छ । एमाले नेता नै रहेका वामदेव गौतम यसका उदाहरण बनेका छन् । पार्टी वास्तवमा समरूप र एकमना हुँदैन, पार्टी समाजबाट आएका मानिस जम्मा भएर निर्माण गरिएकाले यसमा विविधता हुन्छ । यसको असर प्रत्यक्ष रूपमा पार्टी संगठन र पार्टी विचारमा देखापर्छ । यो प्रजातान्त्रिक धारणा राख्नेले प्रयोग गर्ने भाष्यनुसार समाजमा रहेका विभिन्न तह एवं तप्काका कारण र कम्युनिस्ट धारणा राख्नेले प्रयोग गर्ने भाष्य समाजमा रहेका वर्गका कारण पार्टीभित्र स्वतः देखापर्छ । तर, कम्युनिस्ट पार्टीका नेताहरूमा पार्टीको नाम कम्युनिस्ट राखिसकेपछि त्यहाँ रहेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तक सबै कम्युनिस्ट बनिसकेको, समाजमा रहेको तह, तप्का र वर्गको प्रभाव नै मेटिइसकेको स्वैरकल्पनालाई यथार्थजस्तै मान्छन् । मानौं, कम्युनिस्टको सुनपानी छर्किएपछि ‘चोखियो’ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)