नेकपा नेताको पक्राउ पुर्जीबारे सरकार गम्भीर
gorkhapatraonline.com · Sun Dec 10 06:23:18 GMT 2023
काठमाडौँ, मङ्सिर २४ गते । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूको पक्राउ पुर्जीबारे निकास निकाल्ने तयारी गरेको छ । सोमबार जिल्ला अदालत काठमाडौँले विप्लवसहित नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा, माइला लामालगायत नेतालाई पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तत्कालीन सरकारसँग विप्लव नेतृत्वको नेकपाले तीनबुँदे सहमति गरेर शान्तिपूर्ण मूलधारको राजनीतिमा आएपछि पक्राउ पुर्जी जारी गर्न नमिल्ने तर्क गर्नुभयो । “विप्लव नेतृत्वको नेकपाका नेतालाई अहिले लगाएको मुद्दा होइन । अदालतमा पुरानो मुद्दा विचाराधीन अवस्थामा रहेछ । तीनबुँदे सहमति भएपछि पक्राउ पुर्जी जारी गर्नुहुन्नथ्योे,” उहाँले भन्नुभयो, “प्रधानमन्त्रीसमेत विप्लव नेतृत्वको नेकपाका नेतालाई पक्राउ पुर्जी जारी गर्नुहुँदैन भन्नेमा हुनुहुन्छ । पक्राउ पुर्जी जारी गरेपछि उहाँ आश्चर्य चकित हुनुभयो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)