एमसीसी : न वार न पार !
ratopati.com
सत्ता गठबन्धनमा सहमति नजुटेपछि एमसीसी शुक्रबार पनि संसद्मा पेस भएन । प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले जतिसक्दो चाँडो एमसीसी संसद्मा लैजान जोडबल गरे पनि गठबन्धनका अरू दलले मानेका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नै संसद्मा पेस गर्ने तयारी गरेका थिए। तर, गठबन्धनको माओवादी केन्द्र कुनै हालतमा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिएको छ। प्रधानमन्त्रीले 'जबर्जस्ती' संसद्मा पेस गरे ‘सत्ता छोड्ने' निर्णय उसले गरिसकेको छ। जसपाका नेता डा. बाबुराम भट्टराई एमसीसीका पक्षमा खुलेर लागेका कारण उपेन्द्र यादवलाई एमसीसीको विपक्षी कित्तामा उभ्याउने प्रयत्नमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड क्रियाशील छन्। गठबन्धनको अर्को दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने 'एमसीसीका कारण गठबन्धन नभत्कियोस् भनेर बीचको बाटो खोजिरहेका छन्। राष्ट्रिय जनमोर्चा सुरुदेखि नै एमसीसीको विपक्षमा छ।
गठबन्धनको शुक्रबारको बैठकमा सहमति नजुटेपछि आइतबार फेरि छलफल गर्ने र त्यो बेलासम्म संसद् बैठक स्थगित गर्ने निर्णय गरिएको थियो। त्यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा कांग्रेस बाहेकका गठबन्धनका तीन पार्टीको बैठक बसेको थियो। उक्त बैठकले गठबन्धन कायमै राख्नुपर्ने र आफूभित्र सहमति जुटाउन संसद् बैठक केही दिन पर सार्ने प्रस्ताव प्रधानमन्त्रीसँग गर्ने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)