रसुवा बाढी: जो बाढीमा बगेर पनि बाँचे
nagariknews.nagariknetwork.com · Fri Aug 28 04:03:00 GMT 2026

रसुवा बाढीमा बगेर पनि नयाँ जीवन पाएका नुवाकोट विदुरका २५ वर्षीय विवेक कुमाल यतिखेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्। उनलाई बुधबार नेपाली सेनाले उद्धार गरी काठमाडौं ल्याएको हो। घटनाअनुसार उनी बुधबार बिहान साढे ९ बजे विदुर बजारदेखि तल बागवानीमा सेप्टिक ट्यांक निर्माणको काम गर्दै थिए। उनीसँगै अन्य पाँच कामदार थिए। त्यही बेला बागवानीनजिकैको सशस्त्र प्रहरीले बाढी आउँदै गरेको जानकारी दियो। चार जना तत्काल भागे। प्रहरीले बाढी आउँदै गरेको जानकारी दिएको एक मिनेट नबित्दै बाढी आयो। माथि निस्कँदै गरेका विवेक नाम गरेका एक जनालाई भने बाढीले बगायो।
कुमाल करिब डेढ सय मिटर बगिसकेका थिए। ‘त्यति ठुलो बाढीले बगाउन थालेपछि बाँच्ने आशा मारिसकेको थिएँ,’ उनले भने। त्यही क्रममा सशस्त्र प्रहरीले उनलाई बगेकै अवस्थामा उद्धार गर्यो। बाहिर निकाल्दा उनी हिलाम्मे थिए। उनको दाहिने खुट्टा भाँचिएको छ भने शरीरका चोटैचोट छन्। सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी उनलाई राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको हो। उनको भाँचिएको खुट्टा उपचार भइरहेको छ। अन्य स्वास्थ्य अवस्था सामान्य छ। ‘नयाँ जिन्दगी पाएँ, प्रहरीलाई धन्यवाद,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)