मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विचारसहित आऊ नयाँ पुस्ता

rajdhanidaily.com · Mon Jul 10 23:42:17 GMT 2023

नेपाली राजनीतिमा नयाँ पुस्ता विचारविहीन बन्दै गएपछि भूतपूर्व प्रधानमन्त्री वा शीर्ष नेताको झुन्डको खाइखेलोमा वाहवाही छाएको छ । यो कुरा सर्वसाधारण जनता र भोटरसमेतलाई अपाच्य हुँदै गएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पदमा ‘भुतपूर्वहरूको क्लब’को एकाधिकार तोडिनुपर्ने कुरा उठाउँदै आएका छन् । यो आवाज प्रवल वा सुषुप्त रूपमा सबै राजनीतिक पार्टीहरूमा रहेका युवा नेताले उठाउने पनि गरिरहेका छन् । नेपालमा विभिन्न राजनीतिक दलका शीर्ष नेता मात्र घुमिफिरी प्रधानमन्त्री हुने पालो लगाउने गरेकाले पनि थापाले गरेको यस्तोपटक उद्घोषले चर्चा पाउने गरिरहेको छ । सत्तापक्षीय होस् वा प्रतिपक्षीय गठबन्धन जुनसुकैमा पनि भूतपूर्व प्रधानमन्त्री वा शीर्ष नेताको झुन्डबीच पद बाँडफाँट गरिने भएकाले पनि सर्वसाधरणले समेत अब प्रधानमन्त्री को होला भन्ने सहजै अड्कल गर्ने गर्छन् । यो नेपाली प्रजातान्त्रिक परिपाटीको मूल कुरा पो हो कि भन्ने भान सबैलाई पर्न थालेको छ । यसले गर्दा जनस्तरसम्म सिंगो प्रजातान्त्रिक प्रणालीप्रति वितृष्णा पनि जाग्दै गएको छ ।

तर, यो समस्याको समाधानको विकल्प देखिएको छैन । शीर्ष नेताले भागबन्डा गरी खान छाड्ने देखिँदैन । युवा आउन सक्ने वातावरण पनि बनेको छैन । यो अत्यासलाग्दो अवस्थाको अन्त्य गरेर अघि बढ्ने साहस न त शीर्ष नेतामा छ न त युवामा नै । त्यसैले पनि राजनीतिक दल तथा यिनका नेता जनताबाट दिनप्रतिदिन अस्वीकृत र अलग अलग हुँदै गइरहेका छन् । तर, यस्तोखाले राजनीतिक प्रवृत्ति शीर्ष नेताहरूका कारण मात्र सिर्जना भएको भने होइन । एक कालखण्डमा स्थापित भएका पुराना वा शीर्ष नेता अबको बदलिएको परिस्थितिमा सिर्जित नवीनतम् समस्या सम्बोधन तथा समाधान गर्न सक्ने अवस्थामा छैनन् । यो फगत आरोप मात्र होइन, व्यावहारिक रूपमा पटकपटक अभिव्यक्त भएको यथार्थता पनि हो । तर, यही प्रक्रिया दोहरिइरहेको छ किन ? यसको पछाडि राजनीतिक तथा वैचारिक कारण छन् । यी राजनीतिक तथा वैचारिक कारण हरेक राजनीतिक दलका नयाँ पुस्तासँग अभिन्न रूपमा यक्षप्रश्न बनेर जोडिका छन् । कुनै जमानाका समस्या आजका शीर्ष नेता, जो पूर्वप्रधानमन्त्री पनि भइसकेका छन्, ले सम्बोधन र हल गर्ने वा दिने विश्वास राख्थे । तर, आज उनीहरू पटकपटक असफल ‘टेस्टेड’ भइसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)