कृषि बजेटमा वृद्धि र चुनौती
rajdhanidaily.com · Mon Jun 07 23:36:34 GMT 2021
मुलुकको कृषि विकास आर्थिक मेरुदण्डका रूपमा रहेको छ । झन्डै ६६ प्रतिशत जनताको मुख्य पेसाका रूपमा रहेको कृषि व्यवसायमा मुलुकको अर्थतन्त्र निर्भर गर्छ । मूलतः कृषिप्रधान भनिएको मुलुकमा कृषि उत्पादनको आयात बर्सेनि ह्वात्तै बढिरहेको छ । तसर्थ पछिल्लो समयमा कोरोना कहर र विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई न्यूनीकरण गरी हाल कायम रहेको कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वलाई जोगाएर राख्ने चुनौती पनि कृषि क्षेत्रमा थपिएको छ । यसरी अर्कोतर्फ हेर्ने हो भने आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको विकासका लागि बजेटको आकारमा वृद्धि भएको छ । यसरी आगामी आर्थिक वर्षका लागि सरकारले कृषिक्षेत्रमा ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यो बजेट चालू आर्थिक वर्षको भन्दा ३ अर्ब ६९ करोड रुपैयाँ अर्थात् २० प्रतिशले वृद्धि हो । जबकि चालू आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको बजेट रहेको थियो । सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरिद गर्न दिइएको अनुदानसहित भएको पनि बजेटमा उल्लेख छ । त्यसको साथसाथै प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरिएको छ । यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा ७ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । चालू आर्थिक वर्षको बजेटमा सरकारले ७ लाख ३४ हजारलाई रोजगारी सिर्जना गर्ने नीति अघि सारेको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख जनाले आउँदो वर्ष रोजगारी पाउने दाबी बजेटले गरेको थियो । तर, त्यस्ता कार्यले मूर्तरूप लिन नसकेको अवस्थामा पुनः प्रधानमन्त्री रोजगार कार्यक्रममा बजेट वृद्धि गरिएको छ । फलतः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रभावकारिता वृद्धि गरिनुका साथै कृषिबाली, मत्स्ये, पशुपन्छी उत्पादन, रबर खेती प्रवद्र्धन गर्न रबर जोनलगायत थप ७१ जोन सञ्चालनमा ल्याइने घोषणा उनले गरेका छन् । आगामी आवका लागि मन्त्रालयले रासायनिक मलका लागि १२ अर्ब विनियोजन गरेको छ । गत आवमा रासायनिक मलका लागि ११ अर्ब विनियोजन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)