पोखराबाट हुन सकेन नियमित अन्तर्राष्ट्रिय उडान
himalpress.com · Thu May 21 00:40:17 GMT 2026

गण्डकी- छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । झन्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो ।
सन् २०२५ मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि त्यो लामो समय टिक्न सकेन । गत मार्च २३ बाट हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सेवा बन्द गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।“यात्रु सङ्ख्या न्यून भएको भन्दै हिमालय एयरलाइन्सले एक वर्षमै पोखरा–ल्हासा उडान सेवा बन्द गरेको छ”, उनले भने, “छिटपुट रूपमा चार्टर उडानबाहेक अहिले पोखराबाट नियमित रूपमा कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।”
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)