उपभोक्ता अनुभव : राष्ट्र बैंकको तथ्यांकभन्दा बजारको महँगी बढी
abhiyandaily.com
काठमाडौं (अस) । सर्वसाधारण उपभोक्ताले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मूल्यवृद्धिदरभन्दा बजारको महँगी बढी हुने अनुभव गरेका छन् । महँगी (मुद्रास्फीति) बारे सर्वसाधारणको अपेक्षा बुझ्न गरिएको सर्वेक्षणमा केन्द्रीय बैंकले उल्लेख गरेभन्दा बढी महँगीको अनुभव उपभोक्ताले गरेको पाइएको हो । राष्ट्र बैंकले प्रकाशित गरेको सर्वेक्षण प्रतिवेदनमा २०७९ जेठमा मूल्यवृद्धिदर ८ दशमलव ५६ प्रतिशत छ । तर, राष्ट्र बैंककै एक अध्ययनमा उपभोक्ताले हालको मूल्यवृद्धिदर १४ प्रतिशत रहेको महसूस गरेका छन् । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सर्वेक्षणमा सहभागीले तीन महीना अवधिमा मूल्य वृद्धिदर समान रहने तर त्यसपछि केही घट्ने अपेक्षा गरेको उल्लेख छ ।
तर, राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ सर्वेक्षणको नतीजा मुद्रास्फीतिको अवस्थाबारे सर्वसाधारणको अनुभव र अपेक्षाको संकेतमात्र भएको बताउँछन् । ‘मुद्रास्फीतिबारे सर्वसाधारणले के सोच्छन् भन्ने सर्वेक्षणको संकेत मात्र हो,’ उनले भने भने, ‘त्यति नै कायम भएको छ वा उनीहरूको अपेक्षाअनुसार नै बढ्छ/घट्छ भन्ने हुँदैन ।’ राष्ट्र बैंकले २०७९ को असार २० देखि २७ सम्म २८ शहरका ३१ बजार क्षेत्रमा सर्वेक्षण गरेको थियो । १ हजार १४१ व्यक्तिसँग प्रश्नावलीमार्फत सर्वेक्षण गरिएकोमा उत्तरदातामध्ये ९४ दशमलव ७ प्रतिशतले आगामी ३ महीना मूल्य बढ्ने अपेक्षा गरेका छन् । आगामी ३ महीना मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको संख्या २०७८ को तुलनामा बढेको राष्ट्र बैंकले बताएको छ । आवासीय घरजग्गाबाहेकका सम्पूर्ण उपभोग समूहले आगामी ३ महीना मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)