जेनजी आन्दोलनपछि अदालतमा थप समस्या : मुख्य न्यायाधीश
gorkhapatraonline.com · Thu May 21 02:06:40 GMT 2026

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जेनजी आन्दोलनपछि अदालतमा थप समस्या भएको बताउनुभएको छ । बुधबार सप्तरीको राजविराजस्थित उच्च अदालत जनकपुर, राजविराज इजलास र सप्तरी जिल्ला अदालतको स्थलगत अनुगमन गर्नुहसँदै उहाँले सजेनजी आन्दोलनका क्रममा मधेश प्रदेशका अदालतहरूमध्ये सबैभन्दा बढी क्षति सप्तरी जिल्ला अदालतमा भएको पाइएको बताउनुभयो ।
जनताको अन्तिम विकल्प र भरोसाको केन्द्र न्यायालय भए पनि त्यसलाई नै जलाइनु दुःखद भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मधेश प्रदेशका आठवटा जिल्ला अदालत र तीनवटा उच्च अदालतका लागि बजेट विनियोजन गर्ने खाका तयार गर्ने योजना बनाएको छु । बढी क्षति भएका तथा समस्यामा रहेका अदालतलाई प्राथमिकतामा राखिनेछ ।”
न्यायालय जति बलियो भयो, राज्यका निकाय त्यति नै सहज र भरपर्दो हुने मन्त्री महतोको भनाइ थियो । उच्च अदालत जनकपुर, राजविराज इजलासका मुख्य न्यायाधीश सुभाष पौडेलले अदालतमा भौतिक पूर्वाधार र स्रोत–साधनको अभाव रहेकै बेला जेनजी आन्दोलनपछि थप समस्या भोग्नुपरेको बताउनुभयो ।
उहाँले सेवाग्राहीले शुद्ध खानेपानीसमेत सहज रूपमा पाउन नसकेको र पर्याप्त प्रतीक्षालय नहुँदा सास्ती व्यहोर्नुपरेको जानकारी दिनुभयो । उच्च अदालतका रजिस्ट्रार लोकनाथ पराजुलीले अदालतभित्रको समग्र अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सप्तरी जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेले जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत सप्तरीको भौतिक संरचनासँगै एक हजारभन्दा बढी मिसिल जलेर नष्ट भएको जानकारी दिनुभयो । तीमध्ये कतिपय मिसिल १८ महिना र दुई वर्षभन्दा पुराना रहेको उहाँले बताउनुभयो ।
स्रोत–साधनको अभावका कारण अदालत सञ्चालन गर्न अत्यन्त कठिन भइरहेको विषयमा पनि उहाँले मन्त्रीलाई जानकारी गराउनुभयो । अदालत अनुगमनका क्रममा मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा, मधेश प्रदेश प्रहरी प्रमुख, उच्च अदालतका न्यायाधीश, रजिस्ट्रार, जिल्ला अदालतका न्यायाधीश, श्रेस्तेदार तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)