गौरा पर्वका अवसरमा सांस्कृतिक कार्यक्रम
barnanmedia.com · Sat Aug 31 15:37:00 UTC 2024

काठमाडौँ, १५ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम सम्पर्क कमिटीले आज यहाँ गौरा पर्व विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
आज दिउँसो कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको कार्यक्रममा विभिन्न कलाकारले प्रस्तुति दिएका छन् । साथै मौलिक डेउडा खेलसँगै भार्त्या तथा हुड्के नाचलगायत सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका इन्चार्ज लालबाबु पण्डित, स्थायी कमिटी सदस्य कर्बबहादुर थापा, पोलिटब्यूरो सदस्यहरु नारदमुनि राना, गणेश ठगुन्ना, निरुदेवी पाललगायत नेताहरुको उपस्थिति थियो ।
कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले नेपालमा विभिन्न सांस्कृतिक विविधताभित्र नै राष्ट्रिय एकता र सद्भावको भावना रहेको बताउनुभयो । सुदूरपश्चिम कला र संस्कृतिका हिसाबले अत्यन्त समृद्ध रहेको उल्लेख गर्नुहँदै पोखरेलले त्यस क्षेत्रमा महत्त्वपूर्ण पर्वका रुपमा गौरा पर्वलाई लिइने र यसले धार्मिक आस्था मात्र नभई सामाजिक एकताको भावनालाई पनि समेटेको बताउनुभयो । मातृशक्ति पूजन र प्रकृति पूजनसँग जोडिएको गौरा पर्व र सुदूरपश्चिम प्रदेशका अन्य पर्व तथा धार्मिकस्थलहरुले महत्वपूर्ण विरासत बोकेको पोखरेलले बताउनुभयो ।
एमाले सुदूरपश्चिम सम्पर्क कमिटी अध्यक्ष सुरत खत्रीले सुदूरपश्चिम क्षेत्रको विशिष्ट एवं बहुआयामिक संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)