९२.५२ प्रतिशत जनताको घरमा बिजुली तर, डोल्पा, मुगु र हुम्लामा पुगेन केन्द्रीय विद्युत्
nayapatrikadaily.com · Fri Sep 02 00:30:00 GMT 2022
विकासको आधारभूत वस्तु मानिने गुणस्तरीय विद्युत्बाट कर्णाली प्रदेशका डोल्पा, मुगु र हुम्ला जिल्ला वञ्चित रहेका छन् । हाल उक्त जिल्लाहरूमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत स्थानीय रूपमा सौर्य, लघु जलविद्युत्लगायतका माध्यमबाट विद्युत् उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ । यस्ता वैकल्पिक माध्यमबाट उत्पादन गरिएको बिजुली राष्ट्रिय प्रणालीको जस्तो गुणस्तरीय नहुने बताइन्छ ।
जनसंख्याका आधारमा नेपालमा विद्युत्को पहुँच ९२.५१ प्रतिशत पुुगेको छ । त्यसमा ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत् पाएका छन् । प्राधिकरणले सबै जिल्ला, स्थानीय तहका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्यांक २०७९ ले यस्तो देखाएको हो । विशेष गरी भौगोलिक कठिनाइ तथा विकटताले ती जिल्लाहरूमा विद्युत् पुर्याउन ढिलाइ भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । सम्भवतः दुई वर्षभित्र उक्त जिल्लामा विद्युत् पुग्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)