भ्रष्टाचार राज्यको पहुँचबाहिर हुने कारण
rajdhanidaily.com · Tue Jun 01 23:32:21 GMT 2021
३ करोड नेपाली र सिंगो मुलुकलाई नै पीडित बनाउने भ्रष्टाचार राष्ट्रघाती अपराध हो । भ्रष्टाचार मौलाइरहेको, यसमा उच्चस्तरीय पदाधिकारीकै नाम बराबर जोडिँदै आएको तथा कसुरदार दण्डित गराउन राज्य नै सक्रिय नबनेको विद्यमान अवस्थाले भ्रष्टाचार कतै राज्य संरक्षित अपराध भइसकेको त होइन भन्ने आशंका उत्पन्न गराएको छ । करोडौंको भ्रष्टाचारमा नाम जोडिएका उच्च राजनीतिक पदाधिकारीले सत्ताशक्तिको आडमा अनुसन्धानको दायरामै तानिनु नपर्ने निश्चिन्त अवस्थाले ठूलो परिमाणको भ्रष्टाचारको जड पहिल्याउन राज्यसंयन्त्र नै असफल हुने गरेको छ । उच्च पदस्थ राजनीतिक व्यक्तिद्वारा हुने भ्रष्टाचारको कुनै न कुनै रूपमा राष्ट्रिय राजनीतिसँगै पकड हुने भएकाले यस्ता भ्रष्टाचारले छुट पाउँदै आएको कुरा सर्वसाधारणले नै महसुस गरिसकेका छन् ।
सबै भ्रष्टाचारीलाई अन्य अपराधकै जस्तो समानुपातिक ढंगले नै कारबाही गर्ने कानुनी व्यवस्था भए पनि कानुनको व्यावहारिक प्रयोग समानुपातिक रूपमा हुन छोडेको छ । राजनीतिक पदाधिकारी सम्बद्ध उच्च परिमाणको भ्रष्टाचार ‘ए’ ग्रेडको सम्मानित अपराध मानिन थालेको छ । ‘ए’ ग्रेडका भ्रष्टाचारीले कानुनको दायरामा आउनु नपर्ने र राज्य संयन्त्रले कारबाही त होइन छुनै नसक्ने भइसकेको छ । यसैले ‘ए’ ग्रेडका भ्रष्टहरू व्यवहारमा राज्य संरक्षित अपराधीकै रूपमा चिनिँदै आएका छन् । मध्यम स्तरीय वा ‘बी’ ग्रेडका भ्रष्टहरू पनि अधिकांश त कानुनको दायरामा आउँदैनन्, यस वर्गमा तल्लो वरीयताका नेता र उच्च पदस्थ कर्मचारीकै संलग्नता हुने गर्छ । तर, यस्तै व्यक्तिको पकड राष्ट्रिय राजनीतिमा भएको अवस्थामा यिनीहरू पनि कारबाहीको दायराबाट जोगिन्छन् । राजनीतिक पकड नभएका ‘बी’ ग्रेडका निरीह भने कारबाहीमा पर्दै आएका छन् । अर्को तेस्रो वा ‘सी’ ग्रेडको भ्रष्टाचार भने सामान्य राष्ट्रसेवक कर्मचारीद्वारा हुने भएकाले अधिकांश कारबाहीमा पर्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही समूहका निरीह भ्रष्टलाई कारबाहीको दायरामा ल्याएर आफ्नो साख जोगाउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)