विश्वविद्यालयलाई नवप्रवर्तन र अध्ययन केन्द्रका रूपमा विकास गर्न आवश्यक छ:महासचिव पोखरेल
barnanmedia.com · Tue Jun 03 16:02:20 GMT 2025

काठमाडौँ, २० जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले विश्वविद्यालयलाई नवप्रवर्तन र अध्ययन केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले केन्द्रीय विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित ‘आव २०८२/८३ बजेट, विज्ञान प्रविधि र नवप्रवर्तन विषयक’ अन्तरक्रियामा उहाँले विश्वविद्यालयबाट गरिएका अध्ययन व्यावहारिक जीवनमा प्रयोग नै हुन नसकेका भन्दै यस्तो बताउनुभएको हो ।
“हाम्रा रिसर्चहरू व्यवहारिक जीवनमा प्रयोग नै भएका छैनन् । कहिलेकाहीँ अन्तरराष्ट्रिय जर्नलमा प्रकाशित भयो भनेर गर्व गर्ने विषय त बनेको छ, तर हाम्रो देशले के पायो ? भन्ने कोणबाट हेर्दा अवस्था राम्रो छैन”,महासचिव पोखरेलले भन्नुभयो, “हाम्रा रिसर्च हाम्रो उत्पादन, उत्पादकत्व वृद्धि, हाम्रो सेवा प्रवाह, मानवीय जीवनको सुगमता जस्ता कुरासँग जोडिएर हाम्रा अध्ययन अनुसन्धानले सार्थक परिणाम दिन सकेका छैनन् । आगामी आवको बजेटले त्यसतर्फ जोड दिन खोजेको छ ।”
उहाँले स्याटेलाइट राख्न सके सूचना प्रविधिलाई सरल र सस्तो बनाउन सकिने धारणा राख्नुभयो । महासचिव पोखरेलले कानुनी रूपमा नैसूचना प्रविधिको क्षेत्रमा बाहिर लगानी गर्न खुला गरिएको उल्लेख गर्दै बाहिरबाट ल्याउने सूचना प्रविधिका वस्तुमा पनि सरकारले भन्सार करमा उल्लेखनीय मात्रामा छुट दिँदै आएको बताउनुभयो । “सूचना प्रविधिका क्षेत्रमा राज्यको तर्फबाट रु १० अर्बदेखि रु १२ अर्बसम्म कारोबार भएको देखिए पनि अनौपचारिक रूपमा रु ७० अर्बदेखि रु ८० अर्बसम्म बराबरको रहेको पाइन्छ । यसरी सूचना प्रविधि क्षेत्रको कारोबारलाई अनौचारिकबाट औपचारिक बनाउने प्रक्रिया बजेटमार्फत सरकारले गरेको छ । बजेटले सूचना प्रविधिको क्षेत्रमा जनशक्ति, पूर्वाधार र उद्योगका रूपमा प्रवर्द्धन गर्ने कुरा बजेटमा समेटिएको छ । । अब यसबाट लाभ लिनसक्नुपर्छ”, उहाँले भन्नुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा सङ्गीता सिंह र सूचना प्रविधिविज्ञ डा आर के दाहालले बजेटमा सूचना प्रविधि र नवप्रवर्तनमा समेटिएका विषयवस्तुबारे प्रस्तुति गर्नुभएको थियो ।
प्रस्तुतिमा सांसद ईश्वरी घर्ती, प्राडा श्रीरत्न बज्राचार्य, डा भेषराज थापा, चन्द्रविलास भूर्तेल र एमालेका केन्द्रीय सदस्य रमेश पौडेलले टिप्पणी गर्दै आगामी आवको बजेटमा नवप्रवर्तन र स्टार्टअपका क्षेत्रमा युवालाई आकर्षण गर्नेगरी विनियोजन गरिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)