‘महोत्सवमा आयोजकले पैसाको लोभ देखाएर यौन दुर्व्यवहार गरेको सुनिन्छ’
ratopati.com · Sun Apr 05 09:15:00 GMT 2026

काठमाडौँ । गायिका एलिना चौहान पछिल्लो समयकी सफल र सर्वाधिक व्यस्त गायिका हुन् । देशका सुगमदेखि कुना–कन्दरासम्म आयोजना हुने मेला–महोत्सवमा उनको उपस्थिति अनिवार्य जस्तै बनेको छ ।
स्वदेशमा मात्र नभएर उनको डिमान्ड विदेशमा पनि उत्तिकै छ । स्टेजमा उनको प्रस्तुति हेर्न हजारौँको भिड उर्लिन्छ ।
सुगम सङ्गीतदेखि लोक पपसम्मका गीतमा स्वर दिएकी उनका ‘धोकेबाज’, ‘कट्टा हान्दिन्छु’, ‘मिनरल वाटर’ जस्ता थुप्रै गीत हिट छन् । कार्यक्रममा भने दर्शकले विशेष गरेर ‘धोकेबाज’, ‘कट्टा हान्दिन्छु’ जस्ता वियोगात्मक गीत बढी सुन्न रुचाउँछन् । गायिका चौहानसँग कार्यक्रम र गीतसङ्गीतका विषयमा गरिएको कुराकानीको सम्पादित अंश :
निर्वाचनले सुस्ताएका मेला–महोत्सव फेरि सुरु भएका हुन् ?
हो नि, निर्वाचनको मतपरिणाम आएपछि साङ्गीतिक कार्यक्रमहरू धमाधम आयोजना भइरहेका छन् । म पनि यस्तै साङ्गीतिक दौडधुपमै व्यस्त छु । एसईईका कारण केही कार्यक्रमहरू रोकिएका छन् । मैले निर्वाचनपछि मात्र पाँचवटा महोत्सवहरू भ्याएँ । मङ्गलबार बाग्लुङको कार्यक्रम सकेर काठमाडौँ फर्किएकी छु । केही वर्षअघिको तुलनामा अहिले महोत्सवहरू बाह्रै महिना हुन्छन् । पहिले जस्तो हिउँदमा मात्र हुने भन्ने छैन । वर्षा होस् वा गर्मी, जहिल्यै कार्यक्रम भइरहन्छन् । सिजनमा अलि बाक्लो हुन्छ, नत्र महिनाको १५ वटा जति कार्यक्रम त सामान्य रूपमै भइरहेको पाउँछु ।
महोत्सवहरूमा जाँदा पहिलेको तुलनामा निर्वाचनपछि दर्शकहरूको उत्साह र मानसिकतामा केही परिवर्तन पाउनुभयो र ?
निकै ठूलो परिवर्तन पाएकी छु । पहिले दर्शकहरूलाई देशको राजनीति र वस्तुस्थितिको खासै चासो हुँदैनथ्यो । तर, अहिले साना बच्चाहरूदेखि युवाहरूसम्म सबै सचेत भएका छन् । मलाई अचम्म लाग्छ, हाम्रा भाइबहिनीहरूले अहिले कुन मन्त्रालयमा कुन मन्त्री छ, देशमा के भइरहेको छ भन्ने सबै कुराको जानकारी राख्छन् ।
महोत्सवमा यस्ता गीतहरू खासै चल्दैनन्, तर जब कोही श्रोताले ‘तपाईंको यो गीत सुनेर मलाई बाँच्ने हिम्मत मिल्यो’ भन्नुहुन्छ, त्यो बेला मलाई गायनमा लागेकोमा खुसी लाग्छ ।
पहिले शिक्षकले महिनाभरि घोकाउँदा पनि याद हुँदैनथ्यो, तर अहिले उनीहरू आफैँ टिभीमा समाचार हेर्छन् । राजनीतिमा नयाँ र युवा पुस्ताका मान्छेहरू आएका कारणले पनि यो परिवर्तन देखिएको हो । अहिले त स्टेजमा जाँदा पनि दर्शकहरूले राजनीतिक प्रसङ्ग जोडेर गीतको माग गर्नुहुन्छ ।
स्टेजमा गाउँदा धेरैजसो ‘स्याड भर्सन’का गीतहरू रोज्नुहुन्छ, व्यक्तिगत जीवनसँग मेल खान्छ भनेर हो ?
धेरैले मलाई यो प्रश्न सोध्नुहुन्छ । म ‘धोकेबाज’ गाउँछु किनभने दर्शकले त्यही माग्नुहुन्छ । तर, म ती शब्दहरूमा डुबेर वा पीडा महसुस गरेर गाउँदिनँ । मेरो लागि त्यो एउटा प्रस्तुति मात्र हो । ‘धोकेबाज’ गाउँदा पनि दर्शक नाचिरहनुभएको हुन्छ, त्यसैले मलाई रमाइलो लाग्छ । व्यक्तिगत जीवनको कुरा गर्दा, मैले आफ्नो विगतलाई एउटा नराम्रो सपना सम्झेर बिर्सिसकेकी छु । अहिले मलाई ती कुराले कुनै असर गर्दैन ।
कार्यक्रममा तपाईंका कुन गीतको बढी डिमान्ड हुन्छ ?
अहिलेसम्म त ‘धोकेबाज’ नै पहिलो नम्बरमा छ । यो गीतले मलाई कहिल्यै छोडेको छैन । त्यसपछि ‘कट्टा हान्दिन्छु’ को पनि उत्तिकै माग हुन्छ । जति नै अन्य गीत गाए पनि यी गीतहरू नगाईकन स्टेजबाट दर्शकले मलाई ओर्लनै दिँदैनन् ।
तपाईंलाई चाहिँ कस्ता गीत गाउँदा बढी आत्मसन्तुष्टि मिल्छ ?
मलाई चाहिँ समाज परिवर्तन गर्ने र मान्छेको मन छुने गीत गाउँदा आनन्द आउँछ । मैले ‘छोरीको शिरमा’ भन्ने एउटा गीत गाएको थिएँ, जुन घरेलु हिंसाविरुद्ध थियो । महोत्सवमा यस्ता गीतहरू खासै चल्दैनन्, तर जब कोही श्रोताले ‘तपाईंको यो गीत सुनेर मलाई बाँच्ने हिम्मत मिल्यो’ भन्नुहुन्छ, त्यो बेला मलाई गायनमा लागेकोमा खुसी लाग्छ । मेरो विचारमा हिट भन्दा पनि मनमा बस्ने गीतहरूले नै हामी कलाकारलाई अमर बनाउँछन् ।
गाउँका दर्शकहरूको माया निकै निस्वार्थ र पवित्र हुन्छ । उनीहरू एक घण्टाको प्रस्तुति हेर्न चार–पाँच घण्टाको पहाडको बाटो हिँडेर आउँछन् । बाटोमा रोटी पकाएर ल्याएर खाँदै कलाकार कुर्नुहुन्छ ।
तपाईंलाई सुन्न र हेर्न हजारौँको भिड लाग्छ, त्यो क्रेज देख्दा कस्तो महसुस हुन्छ ?
सुरु–सुरुमा त मलाई पनि डर लाग्थ्यो । कतै यो एक–दुई वर्षको लागि मात्र हुने होइन नि भन्ने सोच आउँथ्यो । तर, विगत ६–७ वर्षदेखि निरन्तर मेला–महोत्सवमा जाँदा पनि दर्शकको माया र माग उत्तिकै छ । दिनमा दुई–तीन वटासम्म कार्यक्रमका लागि फोन आउँछन् । यो सब देख्दा म आफूलाई धेरै भाग्यमानी ठान्छु । दर्शकको यही मायाले मलाई सधैँ ऊर्जा दिन्छ ।
अहिले गर्मी सुरु भएसँगै मेला–महोत्सवमा जाँदा भोग्नुपर्ने मुख्य चुनौतीहरू के–के छन् ?
सबैभन्दा ठूलो चुनौती त यात्रा नै हो । अर्को, गर्मीको समयमा भिडभाडमा गाउनु निकै कठिन हुन्छ । इनर्जी नै सकिए जस्तो हुन्छ । फेरि महोत्सवहरू महिनाको १५–२० ठाउँमा हुँदा एकै खाले दर्शक नहुन सक्छन् । कतै तराईको गर्मी हुन्छ, कतै पहाडको चिसो । उतारचढाव भएको मौसमको यात्रामा शरीरले नथेग्न सक्छ । तर पनि दर्शकको उत्साह देखेपछि मेरो सबै थकान मेटिन्छ ।
सहरदेखि दुर्गम गाउँसम्म कार्यक्रम गरिरहनुभएको छ । यी ठाउँका दर्शकमा के फरक पाउनुहुन्छ ?
गाउँका दर्शकहरूको माया निकै निस्वार्थ र पवित्र हुन्छ । उनीहरू एक घण्टाको प्रस्तुति हेर्न चार–पाँच घण्टाको पहाडको बाटो हिँडेर आउँछन् । बाटोमा रोटी पकाएर ल्याएर खाँदै कलाकार कुर्नुहुन्छ । उहाँहरूले कलाकारलाई भगवान् जस्तै मान्नुहुन्छ । उहाँहरूको सम्मान भित्री मनदेखि नै हुन्छ । सहरमा त कलाकारहरू आइरहने हुनाले त्यति धेरै महत्त्व दिँदैनन् । तर गाउँमा पाइने सम्मान र आत्मीयता बेग्लै हुन्छ ।
अरूको माध्यमबाट बोल्नुभन्दा आफ्नै सामाजिक सञ्जालमार्फत आफ्ना कुराहरू सिधै राख्न मलाई सहज लाग्छ ।
स्वदेशका मेला–महोत्सवको व्यवस्थापकले सुधार्नुपर्ने कुराहरू के देख्नुहुन्छ ?
धेरै कुरा सुधार्न आवश्यक छ । पहिलो कुरा त महोत्सवहरू यति धेरै हुन थाले कि कलाकारकै महत्त्व घट्न थालेको छ । एक–एक किलोमिटरको दूरीमा महोत्सवहरू भइरहेका हुन्छन् । यसले दर्शकलाई पनि आर्थिक भार पर्छ र कलाकारलाई पनि दिक्क लाग्छ । अर्को एउटा गम्भीर कुरा के छ भने, कतिपय आयोजकहरूले साना नानीहरूलाई कार्यक्रमको लोभ देखाएर वा पैसाको प्रलोभनमा पारेर यौन दुर्व्यवहार गर्ने गरेको पनि सुनिन्छ, देखिन्छ । यस्ता गतिविधिहरू कडा रूपमा बन्द हुनुपर्छ । महोत्सवलाई केवल पैसा कमाउने माध्यम मात्र नभएर कला र संस्कृतिको जगेर्ना गर्ने थलो बनाउनुपर्छ ।
अचेल तपाईंले सामाजिक सञ्जालमा राख्ने स्टाटसहरूको निकै चर्चा हुने गर्छ । कतिपयले यसलाई फेसबुक ‘मनिटाइजेसन’ सँग जोडेर पनि हेर्छन् नि ?
मेरो फेसबुक पेज मनिटाइज भएको तीन वर्ष भइसक्यो, तर म पैसाकै लागि मात्र जे पायो त्यही स्टाटस लेख्दिनँ । वास्तवमा महिनामा मुस्किलले दुईवटा जति स्टाटस लेख्छु होला । एउटा कलाकारको नाताले देशमा भइरहेका गतिविधिप्रति आफ्नो धारणा राख्नु र आफ्ना फ्यानहरूमाझ राम्रा कुराहरू फैलाउनु मेरो जिम्मेवारी हो भन्ने मलाई लाग्छ । चित्त नबुझेको कुरामा विरोध गर्ने र सही कुराको समर्थन गर्ने अधिकार मलाई पनि छ ।
अचेल मैले बाहिरी सञ्चारमाध्यममा अन्तर्वार्ता दिन पनि निकै कम गरेकी छु । अन्तर्वार्तामा बोलेका कुराहरूलाई तोडमोड गरेर वा भिडियो क्लिप काटेर नराम्रो अर्थ लगाइदिँदा मेरो मानसिक स्वास्थ्यमा नकारात्मक असर पुग्ने गरेको छ । त्यसैले, अरूको माध्यमबाट बोल्नुभन्दा आफ्नै सामाजिक सञ्जालमार्फत आफ्ना कुराहरू सिधै राख्न मलाई सहज लाग्छ । देशका लागि कसैले राम्रो काम गरिरहेको छ भने त्यसलाई तारिफ गर्दा उहाँहरूलाई थप ऊर्जा मिल्छ भन्ने मेरो विश्वास छ । मेरो मुख्य चाहना भनेकै देश राम्रो होस् भन्ने हो, त्यसैले विनाउद्देश्य म अनावश्यक कुराहरू पोस्ट गर्दिनँ ।
सरकारले कलाकारहरूका लागि एउटा निश्चित ‘रिटायरमेन्ट’ योजना वा सामाजिक सुरक्षाको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो ।
हरेक कार्यक्रममा तपाईंका पहिरन फरक हुन्छन् । त्यो कसरी सम्भव छ ?
मलाई पहिरनमा खासै गाह्रो छैन । किनभने मैले चार–पाँच वटा बुटिकहरूसँग कोल्याबोरेसन गरेकी छु । साथै, म पोखराको ‘कोमल कुर्ता पसल’ को ब्रान्ड एम्बासडर पनि हुँ । उहाँहरूले मलाई महिनामा १४–१५ सेट कुर्ताहरू पठाइदिनुहुन्छ । यसले मलाई पनि सजिलो भएको छ र उहाँहरूको ब्रान्डको पनि प्रचार भएको छ ।
अहिलेको देशको नेतृत्वमा र गृह मन्त्रालयमा पनि कलाकारिता क्षेत्रका व्यक्तिहरू पुग्दा कलाकारहरूको अपेक्षा के छ ?
कलाकारहरूको अवस्था बाहिरबाट हेर्दा जति चमकधमकपूर्ण देखिन्छ, भित्र त्यति नै पीडादायी छ । मान्छेहरूले केवल चलेका र ‘हिट’ कलाकारहरूको विलासी जीवन मात्र देख्छन् । तर, धेरै कलाकारहरू १०–१२ वर्षसम्म सङ्घर्ष गर्दा पनि सफल हुन नसकेर वा चलेपछि पनि भविष्य सुरक्षित नदेखेर विदेशिनु परेको अवस्था छ । नेपालमा राजा जस्तो सम्मान पाएको कलाकार विदेशमा गएर भाँडा माझिरहेको देख्दा मन रुन्छ । सरकारले कलाकारहरूका लागि एउटा निश्चित ‘रिटायरमेन्ट’ योजना वा सामाजिक सुरक्षाको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो ।
हामी कर तिर्न तयार छौँ, बरु सरकारले हाम्रो कमाइको निश्चित प्रतिशत कर लिओस्, तर बुढेसकालमा वा बिरामी पर्दा चन्दा माग्नु नपर्ने वातावरण बनाइदियोस् । यहाँ चलुन्जेल मात्र इज्जत छ, नचल्ने बित्तिकै कलाकारको कुनै अस्तित्व रहँदैन ।
आगामी योजना के छ ?
म आफूलाई मन लागेका गीतहरू आफ्नै युट्युब च्यानलबाट ल्याइरहन्छु, चाहे ती गीत चलुन् वा नचलुन् । म विशेष गरी नारी संवेदनाका कुराहरूमा केन्द्रित हुन चाहन्छु । नेपालमा जति नै परिवर्तन आए पनि महिलामाथिको हिंसा रोकिएको छैन । मलाई दैनिक २०–२५ जना महिलाहरूले आफ्नो पीडा म्यासेजमा पठाउनुहुन्छ । कतिलाई बलात्कार गरिएको हुन्छ, कतिलाई श्रीमान्ले कुटपिट गरेका हुन्छन् । ती कुराले मेरो दिमाग डिस्टर्ब हुन्छ । त्यसैले, भविष्यमा गायनसँगसँगै पीडित महिलाहरूको आवाज बन्ने र उनीहरूलाई सहयोग गर्ने मेरो मुख्य लक्ष्य छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)